काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतीक्षित विद्युतीय गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ। कम्पनीले गाडीको औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकलाई लक्षित गर्दै ‘आफ्नो मूल्य अनुमान गरी बुकिङ गर्नुहोस्’ विशेष योजना पनि सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले इ.मास ५ को बजार मूल्य अनुमान गरी आफ्नो अनुमान सुरक्षित गर्न सक्नेछन्। कम्पनीले सार्वजनिक गर्ने अन्तिम मूल्यसँग मिल्ने वा सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन् ।
यस योजनामा सहभागी हुन इच्छुकले कम्पनीले उपलब्ध गराएको अनलाइन माध्यमबाट आफ्नो रोजाइको मोडेल छनोट गरी मूल्य अनुमान दर्ता गर्न सक्नेछन्। ‘इ.मास ५ प्राइम’को मूल्य दायरा २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ र ‘इ.मास ५ प्रिमियम’को मूल्य दायरा ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।
नियमअनुसार सहभागी भएकामध्ये प्रत्येक मोडेलबाट पाँच–पाँच जना भाग्यशाली ग्राहक गोलाप्रथामार्फत छनोट गरिने कम्पनीले जनाएको छ। छनोट भएका ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्न पाउनेछन् ।
कम्पनीले इ.मास ५ को बुकिङका लागि एक लाख रुपैयाँ अग्रिम रकम तोकेको छ। ग्राहकले बैंक वा अनलाइन माध्यमबाट रकम भुक्तानी गरी आवश्यक विवरण बुझाएर वा कम्पनीको वेबसाइटमार्फत भुक्तानी प्रमाण अपलोड गरेर बुकिङ गर्न सक्नेछन्। वेबसाइटमार्फत बुकिङ गर्ने ग्राहकहरूलाई नै भाग्यशाली छनोटको आधार बनाइने कम्पनीले जनाएको छ ।
प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको इ.मास ५ ले हालै मलेसियामा ‘सन् २०२६ को उत्कृष्ट विद्युतीय कम्प्याक्ट सवारी’ पुरस्कार प्राप्त गरेको थियो। कम्पनीका अनुसार यो नेपालमा आफ्नो वर्गकै पहिलो पछाडिका पाङ्ग्राबाट चल्ने विद्युतीय कम्प्याक्ट बहुउद्देश्यीय सवारी हुनेछ ।
नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थालाई ध्यानमा राख्दै यो योजना ल्याइएको कम्पनीको भनाइ छ। इ.मास ५ नेपाली बजारमा कम्प्याक्ट विद्युतीय बहुउद्देश्यीय सवारीको आकर्षक विकल्प बन्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।