
काठमाडौं । विपद्मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।
प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान निःशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम सञ्चालन खर्चमा हेलिकोप्टर सेवा दिनेछ।
नेपाल ड्रोन संघले विपद्को समयमा आवश्यक परे ड्रोन, सम्बन्धित उपकरण तथा पाइलटसहितको सेवा निःशुल्क उपलब्ध गराउनेछ। यस कार्यमा संलग्न जनशक्तिको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्नेछ।
यस्तै, नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)ले बाढी, डुबान तथा नदीजन्य विपद्का बेला खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि राफ्ट, उपकरण र जनशक्ति निःशुल्क उपलब्ध गराउनेछ।
सम्झौता एक वर्षसम्म लागू रहने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद् व्यवस्थापनमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले निजी क्षेत्रको सेवाभावले विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राजविक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको ज्यान र धनको सुरक्षाका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रममा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal