काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरूको जानकारी दिएका हुन्।
बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, विपद् तथा खोज-उद्धार कार्यमा संलग्न सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको सरकारले जनाएको छ।
मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विषयमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयनमा लैजाने निर्णयसमेत बैठकले गरेको सरकारका प्रवक्ताले जानकारी दिए।