
काठमाडौं। राजधानीका केही प्रमुख सञ्चारगृहको प्रवेशद्वारमा बेवारिसे अवस्थामा सवारीसाधन पार्क गरिएपछि सोमबार बिहान केही समय आवतजावतमा अवरोध भएको छ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय अगाडि शंकास्पद रूपमा कारहरू छाडिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत यस्तो गतिविधिले सञ्चारमाध्यमको स्वतन्त्र र निर्बाध कार्यसम्पादनमा बाधा पुर्याएको उल्लेख गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न पनि महासंघले माग गरेको छ।
उता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार शंकास्पद रूपमा पार्क गरिएका सबै सवारीसाधन क्रेनको प्रयोग गरी हटाइसकिएको छ। घटनामा प्रयोग भएका सवारीसाधनका धनीको पहिचान गर्ने काम भइरहेको र घटनाको वास्तविक उद्देश्यबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal