काठमाडौं । व्यवहारिक र नवीन शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्याङ) र श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ। सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेसनल स्कुलको प्रयोगशालामा निःशुल्क प्रयोगात्मक कक्षा सञ्चालन गरिने भएको हो।
कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको विद्यालयले जनाएको छ। पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो। त्यसपछि उनीहरूले विभिन्न उपकरणको प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए।
शैक्षिक वर्षभर सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई त्रिआयामिक मुद्रण, संकेत लेखन, कृत्रिम बौद्धिकता, स्वचालित यन्त्र प्रविधि, छायांकन, दृश्य प्रभाव तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसँग सम्बन्धित विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ। साथै, समुदायका लागि उपयोगी विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहित गरिने विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार कार्यक्रमअन्तर्गत आवश्यक सामग्री, अत्याधुनिक प्रयोगशालाको प्रयोग, प्रशिक्षक तथा सम्पूर्ण खर्च संस्कृति इन्टरनेसनल स्कुलले व्यहोर्नेछ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ।
शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ। यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच र व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।
दुवै विद्यालयले यस सहकार्यले सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा पहुँच विस्तार गर्न, डिजिटल विभाजन कम गर्न तथा नवीन सोच भएका विद्यार्थी तयार पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।