
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोलीसहित कार्यालय पुगेकी मन्त्री यादवले सेवा प्रवाह, प्रविधिको प्रयोग र प्रशासनिक सुधारबारे जानकारी लिएकी हुन् ।
अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयले सेवा प्रवाहलाई थप सरल, छरितो र सेवाग्राहीमैत्री बनाउन गरेका सुधारका विषयमा मन्त्रीलाई जानकारी गराइन्।
उनका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा आधारित बनाइएको छ। यससँगै कम्पनी दर्ताका लागि सेवाग्राही कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ। अब घरबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कम्पनी दर्ता गर्न सकिने व्यवस्था लागू गरिएको छ।
त्यसैगरी कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न छुट्टै आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने अवस्थाको पनि अन्त्य गरिएको छ। कम्पनी दर्ता र प्यान प्रणालीलाई एकीकृत गरिएकाले सेवाग्राहीको समय र खर्च दुवै बचत हुने कार्यालयको दाबी छ।
कार्यालयले सेवाग्राहीका जिज्ञासा र गुनासोको तत्काल सम्बोधनका लागि कृत्रिम बौद्धिकता प्रविधिमा आधारित सहायता केन्द्र पनि सञ्चालनमा ल्याएको जनाएको छ। उक्त व्यवस्थामार्फत चौबीसै घण्टा कम्पनी दर्तासम्बन्धी सूचना तथा आवश्यक सहजीकरण उपलब्ध हुने बताइएको छ ।
निरीक्षणका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै सेवाग्राहीले कुनै पनि प्रकारको झन्झट वा अनावश्यक सास्ती भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिइन् । उनले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन नवीन प्रविधिको अधिकतम उपयोग गर्न पनि आग्रह गरिन् ।
यसैबीच, विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि कार्यालयले कर्मचारी व्यवस्थापनमा समेत पुनर्संरचनाको प्रस्ताव अघि सारेको छ । उपलब्ध प्रविधिको प्रभावकारी प्रयोगबाट कम जनशक्तिबाट बढी काम गर्न सकिने निष्कर्षसहित कार्यालयले २८ प्रतिशत कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको रजिष्ट्रार श्रेष्ठले जानकारी दिइन्।
कार्यालयका अनुसार प्रस्ताव कार्यान्वयन भए प्रशासनिक खर्चमा उल्लेखनीय कमी आउने र सरकारी स्रोतसाधनको उपयोग अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal