• Menu

स्वास्थ्य बिमा बोर्डद्वारा मंसिरसम्मको २३ अर्ब ४४ करोड बक्यौता भुक्तानी

नेपाल प्रफिट

२०८३ असार १९, शुक्रबार १७:४७

स्वास्थ्य बिमा बोर्डद्वारा मंसिरसम्मको २३ अर्ब ४४ करोड बक्यौता भुक्तानी

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मंसिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो ।

बोर्डले स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंसिर महिनासम्मको दाबी बक्यौता फरफारक भएको जनाएको छ । गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्ड सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बिमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डबमोजिम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बोर्डले सम्पूर्ण बिमित सेवाग्राहीलाई स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ । त्यसैगरी बोर्डले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।