
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सेवा कार्यक्रम २०२६ को अन्तिम तथा समापन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
बत्तीसपुतलीस्थित एक कार्यक्रमबीच सम्पन्न भएको कार्यक्रममा कोशी र बागमती प्रदेशका स्टार्टअप टोलीहरूले आफ्ना नवीन सोच, प्रविधिमैत्री समाधान तथा व्यवसायिक योजना प्रस्तुत गरेका थिए। कार्यक्रमले उद्यमीहरूलाई अनुभवी विज्ञ, सफल व्यवसायी तथा लगानीकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुदन झाले स्टार्टअप यात्रा निरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया भएको बताउँदै समाजमा सकारात्मक प्रभाव पार्ने नवीन सोच विकास गर्न उद्यमीहरूलाई आग्रह गरे । उनले अनुसन्धानमा आधारित उद्यम विकासले दिगो सफलता हासिल गर्न मद्दत गर्ने धारणा राखे ।
सूचना तथा सञ्चार प्रविधि विज्ञ हेमपाल श्रेष्ठले ग्राहकको आवश्यकता पहिचान गरी स्पष्ट व्यवसायिक मोडल निर्माण गर्नुपर्नेमा जोड दिए । त्यस्तै, उद्यमशीलता क्षेत्रमा सक्रिय विभिन्न वक्ताहरूले नवप्रवर्तन, जोखिम व्यवस्थापन तथा दीर्घकालीन सोचका आधारमा स्टार्टअप सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रमअन्तर्गत कोशी प्रदेशबाट ‘लोकल बजार’, ‘मेडिक्याब टेक्नोलोजिज’, ‘माइन्ड ब्रिज’, ‘सफारी यात्री’ र ‘भोल्ट भी’ उत्कृष्ट पाँचमा छनोट भएका थिए। तीमध्ये ‘सफारी यात्री’ प्रदेश विजेता घोषित हुँदै एक लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

यस्तै बागमती प्रदेशबाट ‘क्लाउड साथी’, ‘म्याच २४ अर्बिटल्स’, ‘रिटेल साथी’, ‘सम्पर्क डिजिटल लोयल्टी’ र ‘द भिजनरी नेपाल’ उत्कृष्ट पाँचमा परेका थिए। बागमती प्रदेशको विजेता ‘सम्पर्क डिजिटल लोयल्टी’ घोषित भएको थियो। विजेता टोलीले पनि एक लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ।
कार्यक्रममा उत्कृष्ट पाँचभित्र पर्न सफल सबै स्टार्टअप टोलीलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो भने मेन्टर, वक्ता तथा कार्यक्रमलाई सहयोग पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सरकारी निकाय, निजी क्षेत्र, शिक्षाविद्, प्रविधि विज्ञ तथा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा नेपालको स्टार्टअप वातावरणलाई थप सुदृढ बनाउन सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

आयोजकका अनुसार कार्यक्रमले उद्यमी, मेन्टर, सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गर्दै नेपालको नवप्रवर्तन तथा स्टार्टअप पारिस्थितिक प्रणालीलाई थप मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal