काठमाडौँ । नेपालको डिजिटल वालेट क्षेत्रमा अग्रणी भुक्तानी प्रदायक इसेवाले पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ (BNPL) सेवा सार्वजनिक गरेको छ । यो सेवाअन्तर्गत ग्राहकले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।
यस सम्बन्धमा असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ । साझेदारीपत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्टका मनन तुलाधरले हस्ताक्षर गरेका छन् ।
साझेदारीअन्तर्गत ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत बीएनपीएल सुविधा लिन सक्नेछन् । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।
यस सेवामार्फत ग्राहकले इसेवा एपबाटै विद्युतीय स्कुटर खरिदका लागि आवश्यक वित्तीय प्रक्रियासमेत पूरा गर्न सक्नेछन् । रिलायन्स फाइनान्सले स्कुटर खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा चुक्ता गर्न सक्नेछन् ।
इसेवाले डिजिटल माध्यमबाट वित्तीय सेवाको पहुँच सहज बनाउँदै ग्राहकका दैनिक आवश्यकताअनुसार विभिन्न नवीन सेवा विकास गर्दै आएको जनाएको छ । बीएनपीएल सेवा पनि डिजिटल माध्यमबाट वित्तीय सुविधा उपलब्ध गराउने प्रयासको निरन्तरता भएको कम्पनीले जनाएको छ ।
विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने यस साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्र निर्माणमा समेत योगदान पुग्नेछ ।
त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्य विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।