काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगले राइनास नगरपालिकामा आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त १६ लाख ७२ हजार सशर्त अनुदान रकम तोकिएको कार्यक्रम सञ्चालन नगरी हिनामिना तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
आयोगले मिलेमतो गरी अनियमितता गरेको आरोपमा राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नं ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङ, वडा नं ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नं ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरकफरक बिगो कायम गरी कैद सजाय र बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपर हुन मागदाबी गरिएको जानकारी दिए ।