• Menu

रसुवागढी नाका बन्द भएपछि कोरलानाकाबाट व्यापार वृद्धि, २० दिनमा उठ्यो २ अर्ब ५४ करोड राजस्व

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १५:३४

रसुवागढी नाका बन्द भएपछि कोरलानाकाबाट व्यापार वृद्धि, २० दिनमा उठ्यो २ अर्ब ५४ करोड राजस्व

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व संकलन गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल-चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी-केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् ।

कोरलानाकास्थित  लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (इभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिए ।

केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताए ।  नेपाल-चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरलानाका बनेको छ ।

रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा ५३ लाख मात्रै राजस्व संकलन भएको थियो । यस अवधिको चालीस दिनमा कोरलानाकाबाट भित्रिएका  १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो ।

मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी रु तीन अर्ब सात करोड ९३ लाख राजस्व संकलन भएको छ । प्रमुख चुडालले पहिलो साउन महिनामा रु २६ करोड ३९ लाख राजस्व मुस्ताङ भन्सार कार्यालयमा संकलन भएकोमा दोस्रो भदौ महिनामा दुई अर्ब ८१ करोड ५४ लाख राजस्व संकलन भएको हो ।

मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (इभी) गाडी (लिजी-न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिदा १७ करोड ३४ लाख राजस्व संकलन भएको थियो ।

यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिदा एक अर्ब ९३ करोड ९७ लाख राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताए । यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए ।

मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२/०८३ को बाह्र महिनामा ६ अर्ब ९२ करोड राजस्व जम्मा गरेको  थियो । त्यस वर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिएका थिए ।