काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो। प्याब्सनले आफ्नो ३३ वर्षे इतिहासमा विपद्का बेला राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम संकलन गरेको जनाएको छ।
अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक-कर्मचारीको दायित्व र राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै सहयोग अभियानमा उत्साहपूर्वक सहभागिता जनाएको बताए। अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै उनले सहयोगसम्बन्धी विवरण पारदर्शी रूपमा राखिएको जानकारी दिए ।
प्याब्सनका अनुसार संकलित रकमको विवरण सम्बन्धित जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाइएको छ । उक्त विवरण सरकारलाई समेत उपलब्ध गराइनेछ। सहयोग गर्ने विद्यालय तथा संस्थालाई सरकारसँगको सहकार्यमा योगदानको कदरस्वरूप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए ।
यसैबीच, प्याब्सनले विपद्बाट प्रभावित आफ्ना सदस्य विद्यालयको पुनर्स्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
प्याब्सनका महासचिव आरबी कटुवालका अनुसार रसुवा र नुवाकोटमा रहेका पाँच सदस्य विद्यालय बाढीबाट गम्भीर रूपमा प्रभावित भएका छन्। ती विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।
भदौ ३१ गते राति १२ बजेसम्म संकलन हुने थप सहयोग रकममध्ये विद्यालयको पुनर्स्थापना र पुनर्निर्माणका लागि छुट्याइएको २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकम पनि सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिने कटुवालले जानकारी दिए ।
प्याब्सनले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्थामात्र नभई विपद्का बेला राष्ट्रसँगै उभिने जिम्मेवार साझेदार भएको जनाएको छ। निजी विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको सहयोगलाई राष्ट्रप्रतिको माया, एकता तथा सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा लिइएको अध्यक्ष अधिकारीको भनाइ छ ।
प्याब्सनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी दिनमा पनि सरकार र नेपाली जनताको सुख-दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ।