काठमाडाैँ । नेपालको राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन अलग राजनीतिक धारका प्रतिनिधि हुन । तर पनि पछिल्लो तीन दशकको सत्ता राजनीतिमा (एक वर्षअघिसम्म)
उनीहरूको प्रभाव उस्तै किसिमको रह्यो । फरक राजनीतिक धारमा व्यक्ति भए पनि उनीहरु एकअर्कासँग पालैपालो कुम मिलाएर राज गरे ।
उनीहरूले नागरिकलाई नागरिकभन्दा बढी ‘जनता’ मात्रै ठाने। अर्थात्, शक्तिमा पुग्नका लागि उनीहरूले नागरिकलाई मूलतः भोट बैंकका रूपमा प्रयोग गरे। नागरिकबाट भोट लिएर शक्ति आर्जन गरेपछि उनीहरूलाई नागरिकको हैसियतमा हेर्ने प्रवृत्ति नै भएन ।
यहाँ ‘नागरिक’ र ‘जनता’ बीचको भिन्नता बुझ्न जरुरी छ। नागरिक सर्वशक्तिमान हुन्छ, उसले आफ्नो प्रतिनिधिमार्फत राज्यसत्तालाई आफ्नो निर्णयअनुसार चलाउने अधिकार राख्छ। तर जनताको भूमिका धेरैपटक भोट दिने र त्यसपछि निर्णय गर्ने अधिकार प्रतिनिधिलाई सुम्पिने तहमा सीमित हुन्छ। नेपालमा हामी अझै पूर्ण अर्थमा नागरिक हुन सकेका छैनौँ। हामी भोट दिएर प्रतिनिधि पठाउँछौँ, तर निर्वाचित प्रतिनिधिले हाम्रो निर्णयअनुसार काम गर्नुको सट्टा आफ्नै सोच कार्यान्वयन गर्न खोज्छ। त्यसैले ‘जनता’ हुनु र ‘नागरिक’ हुनुमा आधारभूत फरक छ।
तर अहिले यी तीन नेताको राजनीतिक करियर लगभग अन्त्यतिर पुगेको हो कि जस्तो देखिन्छ । एउटा कुरा के सत्य हो भने यि तीन वटै नेताको राजनीतिक युग कमजोर हुँदै गएको भने पक्का हो । तर करियर भने पूर्ण रूपमा समाप्त हुनेछैन । किनभने अहिले पनि राणा शासनमा क्या सुशासन थियो, पञ्चायत कालमा क्या थियो भन्ने मानिसहरु भेटिन्छन् । देउवा, ओली र प्रचण्डको झोला बोक्नेहरु त कति हो कति छन् ।
शेरबहादुर देउवा नेपाली कांग्रेसभित्र लामो समयदेखि निर्णायक शक्ति रहँदै आएका नेता हुन् । प्रधानमन्त्रीका रूपमा पटक–पटक नेतृत्व गर्ने अवसर पाए । उनको सबैभन्दा ठूलो राजनीतिक पूँजी भनेको संगठनभित्रको पकड, अनुभव र विभिन्न शक्ति केन्द्रसँग समन्वय गर्ने क्षमता हो । तर उनको त्यो शक्ति अहिले हराउँदै एउटा झुन्डमा सिमित भएको छ । उनको पछाडि युवा पुस्ता एक जना पनि भेटिन मुस्किल छ । उनकै पुस्ताले अब उनको राजनीतिक करियर अगाडि बढाउन सक्नेवाला छैन ।
पुस्तान्तरण, नेतृत्व शैलीको प्रश्न उठाउँदै र नयाँ राजनीतिक मुद्दाप्रति पार्टीलाई आकर्षित बनाउनुपर्ने भन्दै गगन, विश्वप्रकाशहरुले कांग्रेस कब्जा गरिसकेका छन् । भलै अदालतमा मुद्दा छ, र मुद्दा के हुन्छ त्यो अहिलेलाई अदालतलाई नै छोडिदिउँ ।
केपी शर्मा ओलीको अवस्था भने केही फरक छ। ओलीको सबैभन्दा ठूलो शक्ति उनको आक्रामक राजनीतिक शैली, समर्थकबीचको लोकप्रियता र नेकपा एमालेको संगठनमाथिको प्रभाव हो । उनी आफूलाई राष्ट्रिय राजनीतिमा निर्णायक पात्रका रुपमा उभ्याइरहे । सरकारमा पनि र पार्टीभित्र पनि । तर अहिले उनी निकै ठूलो दबाबमा छन् । उनी सरकारलाई चलाउन सक्ने हैसियतमा त छैनन् नै, आफ्नै दलभित्र पनि आफ्नो शक्ति गुमाउँदै गएको अवस्था छ । उनीमाथि पार्टी नेतृत्व छोडन दबाब बढ्दै गएको छ । यदि केहीगरी ओलीले राजीनामा दिए र नेतृत्व छाडिहाले भने पनि एमालेको शक्ति त्यतिकै फर्किनेवाला भने देखिदैन । किनभने त्यहाँ पात्र फेरिएलान तर पुस्तान्तरण हुनेवाला छैन ।
अब कुरा गरौं पुष्पकमल दाहाल ‘प्रचण्ड’को । उनको राजनीतिक यात्रा त झन् रोचक छ। सशस्त्र विद्रोहबाट मूलधारको राजनीतिमा आएर गणतन्त्र स्थापनाको प्रक्रियामा निर्णायक भूमिका खेलेका प्रचण्डले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याए । यो योगदानलाई नकार्न मिल्दैन । तर उनको राजनीतिक शक्ति सबैभन्दा फास्ट ट्र्याकमा सकिदैछ । उनको एउटा बानी निरन्तर गठबन्धन परिवर्तन र सत्ता समीकरणसँग जोडिएको छ । राजनीतिक करियर सकिने निश्चित भएपछि उनले पार्टीको नाम र चुनाव चिन्ह नै फेरिदिए ।
यी तीनै नेताको साझा समस्या भनेको राजनीतिक र देशको आर्थिक उपलब्धिभन्दा बढी नेतृत्वको निरन्तरतामा निर्भरता हो । दौड मात्रै को कतिपटक प्रधानमन्त्री बन्ने भन्नेमा थियो । नेपाली समाजमा नयाँ पुस्ता रोजगारी, आर्थिक अवसर, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र स्थिर शासन चाहन्छ, तर यिनीहरुमा त्यो समस्याको समाधान निकाल्ने त कुरै छाडौं, पहिचान गर्न पनि खोजेनन् ।
अहिले रास्वपा शक्ति बनेर उदाएको छ । सुशासनमा पुराना परम्परागत दलभन्दा केही भिन्न होला तर यसको छाँटकाँट पनि खासै देखिएको छैन । शक्ति एक दुई जना नेतामै सीमित छ । यसले फेरी उही नागरिक होइन जनताको साशन स्थापित गरेको छ ।
एउटा कुरा नेपालको राजनीति अस्थिर र अप्रत्याशित भएको इतिहास भएकाले देउवा, ओली र प्रचण्डहरुलाई पूर्ण रूपमा ‘समाप्त’ भइसके भनिहाल्न भने हतार हुन्छ । जसरी ६३ सालमा कांग्रेस एमाले सकिए र ७२ मा पुन स्थापित भए अब पनि त्यस्तै नहोला भन्न सकिन्न ।
अन्ततः प्रश्न उनीहरूको व्यक्तिगत राजनीतिक करियर सकियो कि सकिएन भन्ने मात्र होइन । मुख्य प्रश्न त यो हुनुपर्छ की नेपालको राजनीतिमा देउवा, ओली र प्रचण्ड पुस्ताको विकल्प तयार भयो कि भएन ? हुनत अहिले सरकार नै उनीहरु भन्दा दुई पुस्ता तलकाले चलाइरहेको अवस्था छ । तर यो परिपक्व भने पक्कै छैन । जुन सरकारले ल्याएको बजेट र अन्य केही निर्णयबाट देखिन्छ ।
यदि रवि-बालेन सहितको नयाँ पुस्ताले संगठन, विचार र जनविश्वाससहित विकल्प निर्माण गर्न सक्यो भने यी तीन नेताको युग स्वाभाविक रूपमा अवसानतिर जानेछ । तर यसपटक पनि त्यो विकल्प तयार भएन भने उनीहरूको राजनीतिक छायाँ नेपाली राजनीतिमा रहिरहने सम्भावना उत्तिकै बलियो छ ।