काठमाडौं । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा व्यवसायीलाई परेको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ।
चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो। पृथ्वी राजमार्गलगायत देशका केही महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा उद्योगी–व्यवसायीलाई अत्यावश्यक सामग्री ढुवानी तथा आपूर्तिमा समस्या उत्पन्न भएकाले डेस्क स्थापना गरिएको चेम्बरले जनाएको छ।
सहजीकरण डेस्कमार्फत राहत सामग्रीको ढुवानीमा देखिन सक्ने सम्भावित समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिने चेम्बरले जनाएको छ।
त्यस्तै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज आवागमनका लागि आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन निजी क्षेत्र, सरकारी निकाय तथा सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको चेम्बरले जनाएको छ।