काठमाडौं । राष्ट्रिय विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।
शंकर ग्रुपका निर्देशक श्रीमती दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले मंगलबार अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषका लागि ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
शंकर ग्रुपले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार तथा घरपरिवारमा फर्किने कामनासमेत गरेको छ ।
विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीप्रति पनि ग्रुपले आभार व्यक्त गरेको छ ।
यसअघि विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकका लागि अस्थायी आश्रयको व्यवस्था गर्न २५ लाख रुपैयाँ बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ ।
शंकर ग्रुपले राष्ट्रिय संकटको समयमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको बताएको छ। आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा पुनर्स्थापनामा निरन्तर योगदान गर्ने प्रतिबद्धता ग्रुपले जनाएको छ ।