काठमाडौं । विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन् ।
बाढी तथा पहिरोका कारण भौतिक पूर्वाधारमा क्षति पुगेको अवस्थामा प्रभावित नागरिकलाई परिवार, आफन्त, उद्धारकर्ता तथा राहतकर्मीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले कम्पनीले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको हो ।
भदौ १० गते बुधबारदेखि सुरु गरिएको यो सेवाको लाभ रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका एनसेल ग्राहकले पाएका छन् । विपद्का कारण नियमित सञ्चार सेवा प्रभावित भएको अवस्थामा कम्पनीले ग्राहकको आवश्यकता र परिस्थितिलाई ध्यानमा राख्दै निःशुल्क सेवा उपलब्ध गराएको जनाएको छ ।
कम्पनीका अनुसार बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको थियो । यस आधारमा प्रभावित क्षेत्रमा रहेका ठूलो संख्याका ग्राहकले संकटका बेला अतिरिक्त शुल्कको चिन्ता नगरी आफ्ना आफन्त तथा सम्बन्धित निकायसँग सम्पर्क गर्न सकेका छन् ।
एनसेलले सुरुमा बुधबारदेखि तीन दिनका लागि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराएको थियो । तर, विपद्को अवस्था र प्रभावित क्षेत्रमा सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले सेवा अवधि थप गरेको हो । शनिबारदेखि पुनः सात दिनका लागि निःशुल्क सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
निःशुल्क सेवाको मूल्य १ करोडभन्दा बढी
एनसेलले उपलब्ध गराएको निःशुल्क सेवा सामाजिक सहयोगका रूपमा सीमित नरही यसको आर्थिक परिमाण पनि उल्लेख्य देखिएको छ । कम्पनीका अनुसार ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य आइतबारसम्ममा १ करोडभन्दा बढी पुगेको छ ।
यसले विपद्का बेला सञ्चार सेवाको आर्थिक तथा सामाजिक महत्त्वलाई समेत उजागर गरेको छ । सामान्य अवस्थामा ग्राहकले शुल्क तिरेर प्रयोग गर्ने भ्वाइस, डेटा र एसएमएस सेवा विपद्को समयमा निःशुल्क उपलब्ध हुँदा प्रभावित परिवारलाई सञ्चार खर्चको अतिरिक्त भारबाट राहत पुगेको छ ।
अझ मोबाइल टावरहरू क्रमशः पुनः सञ्चालनमा आएसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ । प्रभावित क्षेत्रमा सञ्चार पहुँच विस्तार हुँदै जाँदा निःशुल्क सेवाको उपयोग गर्ने ग्राहकको संख्या र प्रयोगको मात्रा अझ बढ्न सक्ने देखिएको छ ।
२७ टावर प्रभावित, २४ वटा पुनः सञ्चालनमा
भोटेकोशी बाढी तथा त्यसपछि आएको पहिरोले दूरसञ्चार पूर्वाधारमा समेत ठूलो असर पारेको थियो । बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुगेपछि नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए ।
प्राकृतिक विपद्का कारण सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको अवस्थामा दूरसञ्चार पूर्वाधार सञ्चालनमा ल्याउनु पनि चुनौतीपूर्ण बनेको थियो । त्यसका बाबजुद एनसेलले प्रभावित टावर तथा साइटहरू पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।
कम्पनीका अनुसार आइतबारसम्ममा प्रभावित २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी तीनमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेको एउटा टावर तथा नुवाकोटको त्रिशूली, विदुरमा रहेको एउटा टावरमा भौतिक क्षति पुगेको आशंका गरिएको छ ।
भौतिक पूर्वाधारमै क्षति पुगेको आशंका गरिएका यी साइटहरू पुनः सञ्चालनमा ल्याउन थप प्राविधिक तथा भौतिक व्यवस्थापन आवश्यक पर्ने कम्पनीले जनाएको छ ।
२५ हजारभन्दा बढी ग्राहकको सिम पुनः सक्रिय
विपद्को समयमा सञ्चार सम्पर्क टुट्न नदिन एनसेलले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउनुका साथै लामो समयदेखि ब्यालेन्स टपअप नगरेका कारण सेवा रोकिएका सिमलाई समेत पुनः सक्रिय गरिदिएको छ ।
कम्पनीका अनुसार २५ हजारभन्दा बढी ग्राहकका सिममा ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द रहेको थियो । संकटको समयमा ग्राहकहरु आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतसँग सम्बन्धित निकायसँग सम्पर्कविहीन नहोउन् भन्ने उद्देश्यले त्यस्ता सिमसमेत पुनः सक्रिय गरिएको हो ।
यसबाट प्रभावित क्षेत्रमा रहेका थुप्रै ग्राहकलाई आपतकालीन अवस्थामा सञ्चार सेवा प्रयोग गर्न सहज भएको कम्पनीको ठहर छ । पुनः सक्रिय गरिएका यी सिमका ग्राहकले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन् ।
उद्धारदेखि राहतसम्म सञ्चारको सहारा
विपद्का बेला सडक तथा यातायात अवरुद्ध हुँदा मानिसको आवतजावत कठिन हुन्छ । त्यसमाथि मोबाइल टावर वा फाइबर लिंकमा क्षति पुगेमा प्रभावित नागरिकका लागि बाहिरी संसारसँग सम्पर्क कायम राख्नु झनै चुनौतीपूर्ण हुन्छ । यस्तो अवस्थामा सञ्चार सेवा आफैंमा राहत र उद्धारको महत्वपूर्ण आधार बन्न पुग्छ ।
परिवारका सदस्यको अवस्था बुझ्न, आफन्तसँग सम्पर्क गर्न, उद्धारका लागि जानकारी दिन तथा राहत आवश्यक भएको स्थानबारे सम्बन्धित निकायलाई खबर गर्न मोबाइल सेवा महत्वपूर्ण माध्यम बन्छ । त्यसैले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने निर्णयले तत्कालीन सञ्चार आवश्यकता पूरा गर्न सहयोग पुगेको एनसेलले जनाएको छ ।
एनसेलका अनुसार यसबाट विपद्को कठिन समयमा प्रभावित ग्राहक आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन् ।
बाढीका कार० जनजीवनसँगै स्थानीय अर्थतन्त्र, पूर्वाधार र व्यवसायमा समेत असर परिरहेको अवस्थामा सञ्चार सम्पर्क कायम राखुन तथा राहत र पुनःस्थापनाका गतिविधिलाई प्रभावकारी बनाउन एनसेलको सहयोग महत्वपूर्ण सावित भएको छ । प्रभावित नागरिकले आफ्नो अवस्था जानकारी गराउन पाउने र उद्धार तथा राहतसँग सम्बन्धित निकायले आवश्यक सूचना प्राप्त गर्न सक्ने भएकाले सञ्चार सेवाको निरन्तरता विपद् व्यवस्थापनकै एउटा महत्वपूर्ण पक्ष बनेको हो ।