• Menu

च्याउ खोज्न शुक्लाफाँटा छिरेका १७ मध्ये ३ जनाको उद्धार, १४ महिला अझै बेपत्ता

नेपाल प्रफिट

२०८३ साउन ४, १०:४१

च्याउ खोज्न शुक्लाफाँटा छिरेका १७ मध्ये ३ जनाको उद्धार, १४ महिला अझै बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका-२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो ।

सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । त्यसैगरी शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका-१९ बागफाँटाबाट प्रवेश गरेको १४ जना महिलाको समूह सम्पर्कविहीन छ ।

रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरुको खोजीकार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ ।

बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरुको खोजी भइरहेको जानकारी दिए ।