• Menu

बाँकेको जमुनाह नाकाबाट वर्षभरिमा साढे १३ करोडको अवैध सामान बरामद

नेपाल प्रफिट

२०८३ साउन ४, १५:५९

बाँकेको जमुनाह नाकाबाट वर्षभरिमा साढे १३ करोडको अवैध सामान बरामद

बाँके । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये ११ करोड ७१ लाख ६३ हजार ४६४ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

यस अवधिमा २२ लाख ४८ हजार बराबरको काठ बरामद गरिएको उनले जानकारी दिए । ८५ लाख २३ हजार मूल्य बराबरका केही सामग्री भने नष्ट गरिएको सशस्त्र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी गणले ६० लाख ९६ हजार ६६३ स्रोत नखुलेको रकम बरामद गरेको थियो । वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब २१ लाख बराबर बरामद भएको प्रतिवेदनमा जनाइएको छ । सशस्त्र प्रहरी बलले सामान ओसारपसारमा संलग्न भएका २१ जना पक्राउ गरेको थियो ।

पछिल्लो समय लागुऔषध नियन्त्रणतर्फ सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । गाँजा ३४३ ग्राम, ट्रामाडोल १५ हजार ८७० टयाब्लेट, नाइट्रोभेट तीन हजार ४० टयाब्लेट, ब्राउन सुगर ३६.९ ग्राम, अफिम ५.५ केजी, चरेश ६ ग्राम, खैरो हिरोइन एक ग्रामलगायत बरामद गरिएको छ । यस अवधिमा लागुऔषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न २२ जनालाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गरिएको सूचना अधिकारी विष्टले बताए ।

उक्त गणले मानव बेचविखन नियन्त्रण अभियानअन्तर्गत २३ जना महिलाको उद्धार गरेको जनाएको छ । मानव बेचविखनसम्बन्धी सूचनाका आधारमा जमुनाह नाकामा गरिएको जाँचका क्रममा उनीहरूको उद्धार गरिएको उपरीक्षक विष्टले बताए ।

सो प्रकरणमा संलग्न रहेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

पछिल्लो समय जमुनाह नाकामा सशस्त्र प्रहरी बलले अवैध सामान नियन्त्रण, तस्करी रोकथाम तथा सीमा सुरक्षामा अहोरात्र खटिरहेको जनाएको छ ।