• Menu

प्रतिनिधिसभामा प्रधानमन्त्री

नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, छुद्र र जाली छिमेकी होइन

पत्रकारिता स्वतन्त्र छ तर पित पत्रकारिता, झुटो पत्रकारिता, समाजमा बेठीक कुरा फैलाउने पत्रकारितालाई हामीले अलिकति सोध्नैपर्छ, सोधिखोजी गर्नैपर्छ

नेपाल प्रफिट

२०८१ भदौ ३१, सोमबार १८:१९

नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, छुद्र र जाली छिमेकी होइन

आज म विशेष प्रयोजनका लागि यस रोस्ट्रममा उभिएको छु । खासगरी संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै म असोज ४ गते त्यसतर्फ प्रस्थान गर्दैछु । आज त्यस कुराको जानकारी दिन र अलिकति संयुक्त राष्ट्रसंघमा नेपालको प्रस्तुतिका सम्बन्धमा केही कुराहरु राख्न यहाँ उभिएको छु ।

यद्यपि, आज उठेका कुराहरु थुप्रै छन्, जसका बारेमा मैले आफ्ना दृष्टिकोण प्रस्तुत गर्नैपर्छ कुनै समय तर आज म प्रस्तुत गर्दिनँ । किनभने आज बेग्लै सन्दर्भमा म यहाँ उभिएको छु । यतिबेला म देशभरि विभिन्न ठाउँमा केही समय यता भएका प्राकृतिक विपत्तिका घटना र दुर्घटनामा जीवन गुमाउने, अंगभंग हुने, जनधनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्न चाहन्छु ।

दिवंगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । र, घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने कुरा पनि स्पष्ट पार्न चाहन्छु । यो सरकारले गर्ने नै गरेको छ, फेरि पनि हामी गर्छौं ।

यसै प्रसंगमा मैले प्राकृतिक विपत्ति पनि होइन, पाँचथरमा दुई जना बालबालिकाहरुको निधन भयो । अहिले त्यति भनौं । कसरी निधन भयो भन्ने अब पछि कुरा गरौंला । बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो ! यहाँ त अन्योल भइराखेको छ । तर, बम विस्फोटबाट दुई बालबालिकाको मृत्यु भयो । म दुःख व्यक्त गर्न चाहन्छु ।

उहाँका परिवारजनलाई सरकारले पाँच–पाँच लाखका दरले क्षतिपूर्ति दिने र दुई जना अरु घाइते छन्, उनीहरुको उपचारको जिम्मा सरकारले लिनेछ । त्यो पनि म यस गरिमामय सभालाई सम्माननीय सभामुखमार्फत् जानकारी गराउन चाहन्छु ।

मैले अघि नै भनेँ, थुप्रै विषय भए पनि आज म धेरै विषयहरुमा जान चाहन्नँ । धेरै विषयमा म आज बोल्न चाहन्नँ । मैले अघि नै प्रारम्भ गरिसकेको थिएँ कि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संविधान तथा राष्ट्रिय दिवसको भोलिपल्टै ४ गते म संयुक्त राष्ट्रसंघको हेडक्वाटरतर्फ प्रस्थान गर्दैछु ।

म यस गरिमामय संसदलाई सम्माननीय सभामुखज्यूमार्फत स्पष्ट गर्न चाहन्छु, नेपालका आफ्ना नीति छन्, आफ्ना दृष्टिकोण छन्, आफ्ना अडानहरु छन् । आफ्ना समस्या छन्, आफ्ना उपलब्धि छन् । र, ती हाम्रा समस्या, हामीले प्राप्त गरेका उपलब्धि, अगाडि बढ्नुपर्ने हाम्रा अभिभारा छन् ।

ती कसरी पूरा गर्न सकिन्छ वा कसरी पूरा गर्ने भन्ने कुरा, हामी यस सन्दर्भमा के प्रयास गरिरहेका छौं, त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगतसँग कसरी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ भन्ने कुरासमेतमा आप्mना दृष्टिकोण नेपालको तर्फबाट मैले प्रस्तुत गर्नेछु ।

हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हामी आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरुको संक्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता यी सबै कुरालाई म त्यहाँ स्पष्टताका साथ राख्नेछु । नेपाल एउटा सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्र हो ।

यसले आफ्नो राष्ट्रिय गौरवलाई अझ माथि उठाउनेछ र आफ्ना जायज राष्ट्रिय हित, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवद्र्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता गरेको छ ।

नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । असल छिमेकीको रुपमा, छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीबाट पनि चाहन्छ ।

नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने– छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल निर्देशित छ, गाइडेट छ । संयुक्त राष्ट्रसंघको वडापत्र, असलग्न आन्दोलनका सिद्धान्त र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ । त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसंघमा राख्ने छौं ।

यहाँका केही आन्तरिक प्रवृत्ति होलान् । थुप्रै साथीहरुले आन्तरिक प्रवृत्तिको बारेमा उठाउनुभएको छ । हाम्रो संसदको गरिमालाई कमजोर बनाउने खालका भाषा, शैली, उत्तेजना वा व्यवहारजस्ता विषयलाई त्यहाँ लगेर छरिने छैन । त्यहाँ राष्ट्रका विषय, राष्ट्रका कुरा, राष्ट्रका समस्या, राष्ट्रका चुनौती र राष्ट्रका अवसर यसमा केन्द्रित भएर छलफल गरिनेछ ।

यसपटक सामान्य सम्बोधन गर्ने जस्तो विषयमात्रै होइन । विभिन्न विषयमा केन्द्रित भएर संयुक्त राष्ट्रसंघको महासभाले नै छलफलको आयोजना गरेको छ । फ्युचर समिट भनेर आयोजना हुँदैछ ।

फ्युचर समिट भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने, यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरुलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुनेछ ।

फ्युचर समिट भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने, यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरुलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुनेछ ।

म त्यहाँ राम्ररी नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछु । त्यसै गरेर स्मल आइल्यान्ड कन्ट्री, समुद्रको सतह बढेको विषय आदि कुराको छलफल हुनेछ । हामी वातावरणीय विषयमा यसको सन्दर्भमा सबैभन्दा पहिले त हिमाल र समुद्रको इकोसिस्टमको बारेमा त्यहाँ नेपालको दृष्टिकोण पनि प्रस्तुत गर्ने छौँ ।

इकोसिस्टम र समुद्रको सतह बढ्नुका पछाडि हिमालको हिउँ पग्लनु कारण रहेको छ । हिमालबाट हिउँ पग्लिएर हिमालमा हिउँ नअडिएको हुनाले अत्यधिक मात्रामा गएपछि, यो सानो मात्रामा जाँदैन, विशाल नदीहरु बढी हिउँ पग्लिएर अनवरत गइरहेका छन् र एउटा नियमित चक्रमा मात्रै होइन, बढी गइरहेका छन् ।

जति हिमालले हिउँ बोक्नु पर्थ्यो त्यति नबोकिरहेको छ । त्यस्तो किन भएको छ, त्यसका कारणमा जानुपर्छ । समुद्रको पानी प्रदूषित हुने कुरा र वायुमण्डलमा आएको प्रदूषणदेखि लिएर एसिड र सल्टिसिडहरु हिमालसँग ठोकिन जाने कुराहरुदेखि लिएर यसले पारेको प्रतिकूल असरजस्ता कुरामा हामीले विश्वको ध्यानकर्षण गराउनुपर्नेछ ।

क्लाइमेटको इस्युसँग हाम्रा हिमालयको सम्बन्ध के छ र हाम्रो हिमाललाई, हाम्रो हिमाल भनेको हाम्रो मात्रै हिमाल होइन, हाम्रो भूगोलमा अवस्थित छ आमरुपमा । तर, यो यसको मात्रै होइन, ग्लोबल कन्सर्नको समस्या हो ।

जब हामी पिपुल र प्लानेटको कुरा गर्छौं । आज ध्यान दिनुपर्ने विषय भनेको दुईवटा विषय हुन्– पिपुल एन्ड प्लानेट । इन्भाइरोमेन्टको कुरा गरौं, पोभर्टी एलिभियसनको कुरा गरौं वा अरु जुनसुकै कुरा गरौं, जेसुकै कुरा गरे पनि– पिपुल एन्ड प्लानेट । प्लानेटको फ्युचर हाम्रो फ्युचर जेनेरेसन र आजको चिल्ड्रेन र भोलिका बालबालिकासमेतको सेक्योर कसरी गर्ने ? यी सबै विषयमा छलफल हुँदैछ ।

आज दुनियाँले भोगिरहेको र नेपालले पनि बहुतै सिरियस्ली भोगिरहेको ड्रगको समस्या, यस विषयमा पनि संयुक्त राष्ट्रसंघले यसपटक एउटा सेग्मेन्ट राखेको छ, एउटा छलफलको विषय राखेको छ ।

तत् सम्बन्धमा हामीले पनि गम्भीर रुपमा ध्यानकर्षण गर्नुपर्नेछ । यसमा हाम्रो देशभित्र भइरहेका छलफल र अलिक चर्को गरी उठ्न र उठाउन खोजिएका विषय त्यसको बारेमा म अहिले जान चाहन्न । कति मात्रै भन्न चाहन्छु भने ड्रगजस्ता कुरा, लागु पदार्थजस्ता कुरा यसले मानव जातिको भविष्यलाई खतरामा पार्छ ।

यस्ता विषयमा हामी सजग हुनुपर्छ र हामीले आफ्नो दृष्टिकोण र ड्रग्स नियन्त्रणसम्बन्धी र त्यसको प्रयोगलाई समाप्त पार्ने दिशामा नेपालको योगदान, ड्रग्सको कारोबारलाई अन्त्य गर्ने सम्बन्धमा, ड्रग्सको भूमिकालाई अन्त्य गर्ने सम्बन्धमा नेपालको दृष्टिकोण पनि मैले त्यहाँ प्रस्तुत गर्नेछु ।

यस्ता विविध गम्भीर विषय दुनियाँले भोगिरहेको र हामीले पनि भोगिरहेका विषय, जसले हामीलाई अलार्म बजाइरहेका छन् । खतरनाक भविष्यको संकेत गरिरहेका छन् । त्यस्ता विषयको बारेमा पनि मैले त्यहाँ बोल्नेछु ।

साथै, यसपटक मैले न्युयोर्कस्थित धेरै विद्वान जन्माएको र झन्डै तीन सय वर्ष पुग्न लागेको इतिहास भएको विश्वविद्यालय न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा एउटा सम्बोधन पनि गर्नेछु । त्यसै गरेर बोस्टर्नमा अवस्थित हार्वर्ड विश्वविद्यालयमा पनि एउटा सम्बोधन गर्नेछु ।

प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल र नेपालीको दृष्टिकोण, नेपालको अवस्था र नेपाल जान खोजेको कुरा बताउनेछु । नेपाल डेमोक्रेसीका लागि लडेर आएको छ । पोलिटिकल पार्टी सिस्टम, प्रतिस्पर्धात्मक डेमोक्रेटिक सिस्टम हामीले रोजेर ल्याएका हौँ ।

मैले पहिले पनि भन्ने गरेको छु र यसै रोस्ट्रमबाट पनि भन्ने गरेको छु–प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ । प्रतिस्पर्धा भनेको झुटो कुराको बखान होइन । झुटा आरोप, लाञ्छना प्रतिस्पर्धा होइन । कुइनो हानाहान, छिर्के लडाउने प्रतिस्पर्धा होइन । प्रतिस्पर्धा दौडनु हो ।

हामी स्वतन्त्रताका हकहरुको पक्षमा छौं । वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता तर सामाजिक मर्यादाका प्रबन्ध हामी मान्छौँ । हामी एनिमलमात्रै होइनौं, हामी सचेत जीव हौं । हामीले समाज विकास गरेका छौं, समाजले थिति र मूल्यमान्यता विकास गरेको छ ।

हामी ती मूल्य मान्यता, हाम्रा सुन्दर संस्कृति र परम्परालाई भत्काउन सक्दैनौँ । यहाँभित्रका बेठीक र अनुपयुक्त भइसकेका पक्षलाई हटाउनुपर्छ र ठीक कुरालाई जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । एनार्किज्म र डेमोक्रेसी यी कुरालाई हामीले छुट्याउन सक्नुपर्छ । अराजकता डेमोक्रेसी होइन ।

मैले सन् २०१९ मा डाभोस इकोनोमिक समिटमा जाँदा त्यहाँ पनि साइडलाइनको एउटा भेटघाटमा सायद न्युयोर्क टाइम्सका पत्रकारले सोध्नुभएको थियो कि प्रेस स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, वाक् स्वतन्त्रता, अभिव्यक्ति स्वन्त्रता आदिका बारेमा, मैले त्यसबेला त्यही भनेको थिएँ- पत्रकारिता स्वतन्त्र छ तर पित पत्रकारिता, झुटो पत्रकारिता, समाजमा बेठीक कुरा फैलाउने पत्रकारितालाई हामीले अलिकति सोध्नैपर्छ, सोधिखोजी गर्नैपर्छ ।

झुटा कुराको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, मान्छेका परिवार बिगार्ने, पारिवारिक सम्बन्ध बिगार्ने, साथीहरुका सम्बन्ध बिगार्ने आदि कुराहरु, अरुका कुरा अनावश्यक व्यक्तिगत इस्युलाई पनि खोजेर उछालेर नभएका कुरा पनि जोडिजोडिकन दिने प्रकारका क्रियाकलाप उचित हुँदैनन् ।

सम्मानित सदन र माननीय सदस्य सबैलाई म सभामुखमार्फत भन्न चाहन्छु, उठ्दै नउठेका कुरामा प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो, त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । कसैले विषय उठान नै गरेको छैन । उठान नै नगरेका विषयमा उत्पातै ! म त हेरिराखेको थिएँ, के भएको होला ! उठाएकै छैन ।

त्यो विषयमा कसैले के भनेर छलफल गर्‍यो भने त्यो छलफल संसदमा आएर भएको पनि होइन, कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दाखेरी के कुरा गरेका थियौँ, किन यस्तो कुरा गर्‍यौ, ए बाबा ! त्यो कस्तो हो ?

संसदमा कुरा उठ्छ, के विषयमा भनेर मान्छेले छलफलमा यस्सो बोल्न पनि के रहेछ भनेर सोध्न पनि नपाउने ? अनि एथ्निसिटीका कुरा, जेन्डरका कुरा आदि अनेक कुरा उछालेर गालीगलौजका भाषा ! साथीहरु थुप्रैले राखिसक्नुभएको छ, बोलौँ ठीक छ । आलोचना गरौं । तर, भाषाको सीमा हुन्छ होला ।

हामी सभ्य नेपाली समाजमा छानिएका सभ्य प्रतिनिधि हौँ । हाम्रा क्रियाकलाप र बोली व्यवहारमा समाजले एउटा नमुना प्रतिबिम्बको अपेक्षा खोज्ला । आफ्नो सभ्यताको, शिष्टताको, मर्यादाको प्रतिबिम्व सांसदहरुबाट आयो भन्ने जनताले ठान्नुपर्ला । त्यसो भएर म अहिले त्यता धेरै नजाऔं ।

म संयुक्त राष्ट्रसंघमा जाँदैछु र म ढुक्क रहन माननीयजीहरुलाई भन्न चाहन्छु, फर्किएर आएपछि फेरि मैले सदनको बैठकमा के गरेँ, कसो गरेँ भन्नेछु । मेरा सबै वक्तव्य सबै मिडियामा आइसकेको हुन्छ, कुनै गोप्य हुँदैन ।

त्यसमाथि पनि मैले यस गरिमामय सदनलाई रिपोर्टिङ गर्ने छु कि मैले यो यो चिज गरेर आए, यो यो कुरा बोलेर आएँ, यसमा प्रकाश पारेर आएँ, यस्तो गरेर आए भनेर भन्नेछु । म नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिनँ ।

एक जना माननीयजीले अघि उठाउनुभएको थियो कि हामीले गर्ने राजनीति भनेको देश र जनताका लागि हो । आजका लागि हो, आजभन्दा बढी भोलिका लागि हो । त्यसो भएर हामी जुन घरको जग राख्छौं, जग राख्नेबित्तिकै बस्न पाइँदैन । जहाँ शिलान्यास गर्छौं, त्यहाँ बस्न पाइँदैन, त्यो त भोलि बस्नका लागि हामी बनाउँछौं ।

भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ, उर्वराहीन हुन्छ । हामी भोलिका लागि बढी गर्छौं, आजका लागि भन्दा । असारका लागि असारमा धान रोपिएको होइन, कात्तिक र मंसिरका लागि रोपिएको हो । यो कुरा बुझेर नै हामी हाम्रा नीतिहरुमा अगाडि बढ्छौं ।

अहिले धेरै विषयहरुमा म जान चाहन्नँ । म दुवै सदनका सबै माननीयज्यूहरुमा समेत र यस सदनमार्फत सम्पूर्ण नेपाली जनतामा पनि दसैंको धेरै धेरै शुभकामना भन्न चाहन्छु र निकट भविष्यमा दुई दिनपछि संविधान तथा राष्ट्रिय दिवस आउँदै छ ।

यो हामी सबै नेपालीका संघर्ष र उपलब्धिहरुको साक्षी हो, प्रतिफल हो र प्रतीक हो । यसकारण यस दिवसको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु । दसैं तिहारको पनि शुभकामना भन्न चाहन्छु र मलाई बोल्न समय दिनुभएकोमा सम्माननीय सभामुखज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

(प्रधानमन्त्रीको केपी शर्मा ओलीले २०८१ भदौ ३१ मा प्रतिनिधिसभाको बैठकमा दिएको मन्तव्यमा आधारित)

प्रतिक्रिया दिनुहोस्