काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको अध्यक्षामा दिलिप बादे निर्वाचित भएका छन् । एसोसिएसनको शुक्रबार सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट बादे अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा बादेले निर्वतमान अध्यक्ष मीनबहादुर तामाङलाई पराजित गरे । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेशभक्त श्रेष्ठले सीताराम पन्त र उपाध्यक्षमा रामबहादुर तामाङले विश्वमणि पोखरलेलाई पराजित गरका छन् ।
अन्य कार्यसमितिका पदहरु भने निर्विरोध भएका थिए । निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव हिरामणि शर्मा, सचिव राजु तामाङ, कोषाध्यक्ष राजकृष्ण बजगाई रहेका छन् । सदस्यहरुमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्रकुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रन्जिता जिमी र कमला लामा निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष तामाङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । नवनिर्वाचित अध्यक्ष बादेले पुष्प व्यवसायको विकास, विस्तार र दिगोपनका लागि सबै पुष्प व्यवसायी एक ढिक्का भएर लाग्नुपर्ने समय आएको बताए ।