• Menu

आर्थिक सुधारको आधार तयार हुँदैछ : चन्द्रप्रसाद ढकाल

नेपाल प्रफिट

२०८१ भदौ २४, १८:२६


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताएका छन् । महासंघको सचिवालयमा सोमबार अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटका क्रममा उनले आर्थिक सुधारको आधार बनेको बताएका हुन् ।

भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावलाई लिएको र नयाँ पुस्ताका सुधार अघि बढाएको जानकारी गराए । उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हातेमालो गरेर आर्थिक वृद्धिलाई प्रवर्धन गर्न सकिने बताए ।

ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए ।

प्रतिवेदन व्यावसायिक समुदाय र नीति निर्माताका लागि महत्वपूर्ण सावित भएको उनले जानकारी दिए । ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा ईएसजी (इन्भायरोमेन्ट, सोसल र गभर्नान्स) कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए ।

ढकालले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरे ।

भेटको क्रममा फाखौरीले सार्वजनिक-निजी साझेदारीमा थप जोड दिन आवश्यक रहेको बताए । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसर पनि रहेको धारणा राखे ।