• Menu

उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ भदौ ५, बुधबार १२:४३

उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने बताएका छन् ।

राजधानीमा बुधबारदेखि आयोजित स्टार्टअप नेसन सम्मेलनमा अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र थप गर्न लागेको विषयमा असन्तुष्टि जनाउँदै यसबाट निजी क्षेत्र थप निरुत्साहित हुने बताएका हुन् ।

‘संसदमा विचाराधीन भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनका विषयमा हामीले राखेको चासोलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनुभएको छ,’ उनले भने, ‘निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको सन्दर्भमा थप नियामक आवश्यक नपर्ने विषय म यहाँ पनि जोडदार रुपमा उठाउन चाहन्छु ।’

उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने अध्यक्ष ढकालले बताए । ‘मलाई पूर्ण विश्वास छ, सम्माननीय प्रधानमन्त्रीज्यूले निजी क्षेत्रका समस्या सम्बोधन गर्नुहुनेछ,’ उनले भने ।

यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रस्तावमा १ प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले पनि लगानी विस्तार प्रभावित हुने र आर्थिक वृद्धिमै असर पर्ने अध्यक्ष ढकालले बताए ।

‘हामीले युवालाई उद्यमशीलतामा संलग्न गराउन र अर्थतन्त्रमा योगदान पु¥याउन ढिला भइसकेको छ,’ उनले भने, ‘सन् १९८० देखि २०१० भित्र अमेरिकामा स्टार्टअपहरुले करिब २५ प्रतिशत रोजगारी सिर्जना गरेको विभिन्न अध्ययनले देखाएका छन् । भारत संसारको तेस्रो ठूलो स्टार्ट अप सञ्जाल भएको मुलुक बनेको छ । हामी जस्तै अतिकम विकसित मुलुक बंगलादेशमा वर्षको करिब १० अर्ब स्टार्ट अपमा लगानी हुन थालेको छ ।’

नेपालमा पनि त्यत्तिकै सम्भावना भएको उनले बताए । ‘नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका छन् । ती युवा नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा मध्यपूर्व र मलेसियामा काम खोज्न गएका छन्,’ ढकालले भने ।

अहिले नेपालले तीव्र आर्थिक विस्तार गर्ने सम्भावना रहेको उनले बताए । ‘दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थिरताको प्रतिबद्धता जनाएका छन् । हालसम्मकै उच्च विदेशी मुद्राको सञ्चिति छ । भुक्तानी सन्तुलन सहज अवस्थामा छ । बैंकहरुसँग लगानी गर्न पर्याप्त रकम छ,’ उनले भने, ‘क्रेडिट रेटिङ पनि भइरहेकाले विदेशी लगानी आउने सम्भावना छ ।’

लगानी वृद्धि हुँदै गए रोजगारी र राजस्व बढ्ने र समृद्ध नेपालको सपना साकार हुने उनले बताए । सम्मेलन दुई दिन चल्नेछ ।