काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।
स्टार्ट अप नेसन २०३० कार्यक्रममा प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।
उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउनुपर्ने बताए ।
नवीन र सिर्जनशील उद्यमीलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट पारे ।

‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्नेछ,’ उनले भने, ‘सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लानुपर्छ ।’
देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कुनै कमी नगर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले जनाए । ‘हामी सरकारमा झन्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ,’ उनले भने ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता छ । कार्यक्रम दुई दिनसम्म चल्नेछ ।