काठमाडौँ । सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा साउन ३२ गते हिमताल फुटेर आएको बाढीले मोबाइल सेवा अवरुद्ध भएकोमा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।
बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि उक्त क्षेत्रलगायत नाम्चे, खुमजुङ, पानी ट्यांकीका (बीटीएस) टावरहरु बन्द भएका थिए । टेलिकमले बीटीएस टावरहरु चालु गरी टेलिफोन सेवा पुनः सञ्चालन गरिएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु-५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
हिमताल फुटेर थामे खोलामा आएको बाढीले पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीले विद्युत् पावर हाउसमा क्षति पुर्याएपछि सो गाउँमा विद्युत् टेलिफोन लगायतका सेवा अवरुद्ध थियो । बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षती भई विद्युत् सेवा अवरुद्ध भएको थियो ।
खुम्बु पासाङल्हामु-३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सञ्चालन गर्न जनप्रतिनिधिले मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएका थिए ।
टेलिकमका अनुसार जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलमा तत्काल फोन गरी वैकल्पिक ऊर्जामार्फत सेवा सुरु गर्न निर्देशन दिएका थिए ।