काठमाडौं । नेपालको सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।
मंगलबार ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा किनबेच भएको हो । यो रकम नेपालको सेयर बजार इतिहासमा हालसम्मकै उच्च हो ।
यसअघि साउन १६ गते २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबार रकमले इतिहास रचेको दिन नेप्से परिसूचक भने १४५.०५ अंकले घटेर २६५१.३२ अंकमा झरेको छ । वित्त र होटल समूह ८ प्रतिशतभन्दा बढीले घटेका छन् । बजारमा पहिरो जाँदा पनि थ्री स्टार हाइड्रो र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विश्व सेयर बजारको प्रतिकूल प्रभाव नेपाली लगानीकर्तामा पनि परेको हो । एसियालीसँगै अमेरिकी सेयर बजारमा समेत उच्च गिरावट आउँदा नेपालका लगानीकर्ताको पनि मनोबल खस्किएको हो ।
बेरोजगारी दरमा उच्च वृद्धि र फेडरल रिजर्भद्वारा ब्याजदर कटौतीसँगै अमेरिकाको समग्र अर्थतन्त्र मन्दीमा जाने चर्चाका बीच लगानीकर्ता त्रसित भएपछि विश्वभरको सेयर बजार धस्किएको छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ग्लोबल स्टक मार्केट क्रयास भएको उल्लेख गरेका छन् ।
अमेरिकी एक्सचेन्ज कम्पनी नाजडाक स्टक मार्केट, एस एन्ड पी, डाउजोन्स, जापानको एक्सचेन्ज निक्की २२५, भारत र ताइवानका एक्सचेन्ज तथा दक्षिण कोरियाको कोस्पी सूचकांक पनि उल्लेख्य घटेको छ ।