काठमाडौं । नेपालको सेयर बजार इतिहासमै बुधबार सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा कारोबार भएको हो ।
हालसम्म नेप्सेको इतिहासमा यति ठूलो कारोबार भएको थिएन । २०७८ भदौ २ गते नेप्से ३२१८.८६ विन्दुसम्म पुगेको थियो । नेपालको सेयर बजारको इतिहासमा नेप्से परिसूचकको सर्वाधिक उचाइ यही हो । कारोबार बन्द हुँदा भने नेप्से ३१९८.६ अंकमा कायम रह्यो ।
सेयर बजारले बुलिस यात्रा तय गरिरहेका बेला त्यस सयममा २०७८ साउन २१ गते हालसम्मकै ठूलो परिमाण अर्थात् २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसबेला दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार धेरै दिन भएका थिए ।
नेप्से सर्वाधिक उचाइमा पुगेका दिन पनि २१ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो ।
सर्वाधिक कारोबारको रेकर्ड तय हुँदै गर्दा बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९ अंकमा उक्लिएको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूह ८.०८ र लगानी समूह ६.८९ प्रतिशतले बढेका छन् ।
आज हिमालयन रि–इन्स्योरेन्सको मात्रै ८४ करोड ४९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । युनाइटेड अजोड इन्स्योरेन्ससहित आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अरु १३ कम्पनीको सेयर सर्किट लेभलमा भएको छ ।