• Menu

नयाँ समीकरण बनेयताको एक महिनामा ७२३ अंक बढ्यो नेप्से, ११ खर्ब ५० अर्ब थपियो लगानीकर्ताको सम्पत्ति

नेपाल प्रफिट

२०८१ साउन १६, बुधबार १६:१३

नयाँ समीकरण बनेयताको एक महिनामा ७२३ अंक बढ्यो नेप्से, ११ खर्ब ५० अर्ब थपियो लगानीकर्ताको सम्पत्ति

काठमाडौं । नयाँ सत्ता समीकरण बनेको दिनदेखि बुलिस ट्रेन्ड समातेको नेपालको सेयर बजार एकै महिनामा ७२३ अंकले बढेको छ । असार १७ गते १६.२९ अंकले बढेर बुलिस यात्रा सुरु गरेको सेयर बजार बुधबार (साउन १६)सम्ममा ७२३.८२ अंकले बढेको हो ।

एक महिनामा सेयर बजार २०३७.०९ अंकबाट उक्लिएर २७६०.९१ अंकमा पुगेको छ । कांग्रेस र एमालेबीच सहमति भएकै दिन सेयर बजारमैत्री मानिने एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने हल्ला चलेपछि सेयर लगानीकर्ता थप उत्साहित बनेका थिए ।

अन्योलका बीच असार ३१ मा मात्र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । तर, सेयर बजार भने लगातार बढिरह्यो ।

यो अवधिमा लगानीकर्ताको सम्पत्ति साढे ११ खर्बले बढेको छ । असार १६ गते ३२ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण साउन १६ गते ४३ खर्ब ८० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

नेपालको इतिहासमा नेप्सेको कुल बजार पुँजीकरण २०७८ भदौमा ४४ खर्ब नाघेको थियो ।

नेपालको इतिहासमा बुधबार हालसम्मकै ठूलो सेयर कारोबार भएको छ । बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा कारोबार भएको हो । हालसम्म नेप्सेको इतिहासमा यति ठूलो सेयर कारोबार भएको थिएन ।

सेयर बजारले बुलिस यात्रा तय गरिरहेका बेला २०७८ साउन ३१ गते हालसम्मकै ठूलो परिमाण अर्थात् २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सर्वाधिक उचाइमा पुगेका दिन पनि २१ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो ।

२०७८ भदौ २ गते नेप्से ३२१८.८६ विन्दुसम्म पुगेको थियो । नेपालको सेयर बजारको इतिहासमा नेप्से परिसूचकको सर्वाधिक उचाइ यही हो । कारोबार बन्द हुँदा भने नेप्से ३१९८.६ अंकमा कायम रह्यो ।

सर्वाधिक कारोबारको रेकर्ड तय हुँदै गर्दा बुधबार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९ अंकमा उक्लिएको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह उकालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूह ८.०८ र लगानी समूह ६.८९ प्रतिशतले बढेका छन् ।