• Menu

विदेशी लगानी निरुत्साहित

नेपालको व्यावसायिक वातावरणमा खोट देखाउँदै साढे ६ अर्बमा एनसेल बेचेर बाहिरियो आजियटा

नेपाल प्रफिट

२०८० मंसिर १६, शनिबार ०७:१७

नेपालको व्यावसायिक वातावरणमा खोट देखाउँदै साढे ६ अर्बमा एनसेल बेचेर बाहिरियो आजियटा

काठमाडौं । नेपालको व्यावसायिक वातावरणमा खोट देखाउँदै ५० मिलियन अमेरिकी डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा एनसेल बेचेर आजियटा बाहिरिएको छ ।

सरकारले विदेशी लगानी आह्वान गर्न लगानी सम्मेलन घोषणा गरेको तीन दिन नबित्दै आजियटाले नेपाल छाडेको जानकारी गराएको हो । सरकारले मंसिर १० गते नेपालमा २०८० वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो ।

त्यसको तीन दिन नबित्दै मंसिर १३ गते (डिसेम्बर २९) आजियटा बोर्डले एनसेलको स्वामित्व बिक्री गरेको घोषणा गरेको हो । यद्यपि, एनसेलको बिक्री भने दुई महिनाअघि सेप्टेम्बर २९ मै भएको एनसेलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

आजियटाले एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको जनाएको छ ।

स्पेक्ट्रलाइट यूके महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । कम्पनीमा शतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ । नेपाली मूलका सिंगापुर निवासी आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् ।

नेपालबाट फिर्ता जानुको मूल कारणमा आजियटाले खराब व्यावसायिक वातावरण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार अनुचित कर र अनुमान नै गर्न नसकिने नियामकीय शैली रहेको परिप्रेक्ष्यमा व्यवसाय सञ्चालन गरिरहन उचित नभएको निष्कर्षमा आजियटा पुगेको हो ।

दोहोरो करका कारण बढ्दो अस्तित्व रक्षाको जोखिम, सन् २०२९ मा कम्पनीको इजाजतपत्रको म्याद समाप्त हुने स्थिति र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै एनसेलको सेयर बिक्री गर्ने निर्णय लिनुपरेको आजियटाले जनाएको छ ।

आजियटा लिमिटेडले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो । सात वर्ष व्यवसाय गर्दा २ अर्ब २ करोड लाभांश लैजान सफल भएको आजियटाले जनाएको छ ।