काठमाडौं । । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय सुरु गरेको छ ।
प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए । भ्रमणका क्रममा नेपाल-भारत संयुक्त दृष्टिपत्रसहित विभिन्न विषयमा आपसी सहमति, समझदारी तथा महत्त्वपूर्ण निर्णय भएका थिए ।
ती सहमति तथा समझदारीलाई दुवै देश र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान मन्त्रालयले प्रक्रिया अघि बढाएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित मन्त्रालय तथा निकायबाट समझदारीपत्र र सहमति कार्यान्वयन हुने तथा त्यसको नियमित अनुगमन मन्त्रालयले गर्ने जानकारी दिए ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिबारे सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने गरी १२ वटा ‘क्यारोसेल ग्राफिक्स’ तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पनि बताए ।
यसैबीच, मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको जनाएको छ । साउदी अरेबियालगायत पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको प्रवक्ता क्षेत्रीले बताए ।
उनले कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्नेमा जोड दिँदै नागरिकको ज्यान, निजी सम्पत्ति तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने बताए ।
साउदी अरेबियाको किङ अब्दुल्ला फाइनान्सियल डिस्ट्रिक्टस्थित पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका दुई आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ । एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ भने अन्य दुई जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार निधन भएका नेपालीको शव स्वदेश ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय सुरु गरेको छ । उक्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकार तथा नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशन र सूचनाको पूर्ण पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
यसैगरी, नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ यस वर्ष विभिन्न कार्यक्रम गरी मनाउन लागिएको मन्त्रालयले जनाएको छ । सात दशक लामो सम्बन्धका क्रममा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको प्रवक्ता क्षेत्रीले बताए ।
मन्त्रालयले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध रहेको अवस्थामा नेपाल-चीन व्यापार तथा आवागमन सहज बनाउन भइरहेका प्रयासबारे पनि जानकारी गराएको छ ।
तातोपानी-झाङ्मु नाका ठूला मालवाहक ट्रक तथा कन्टेनरका लागि खुला गर्ने र अन्य नाकाबाट हुने आवागमन सहज बनाउने विषयमा चीन सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।