एजेन्सी । आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन दक्षिण कोरियाले मंगलबार लडाकू जेट परिचालन गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार रूसी विमान कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपि, ती विमानले दक्षिण कोरियाको वास्तविक क्षेत्रीय हवाई सीमा भने उल्लंघन नगरेको सेनाले स्पष्ट पारेको छ ।
रूसी विमान उल्लेउङ टापुको हवाई क्षेत्रनजिक उडेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो । तर, विमान जोखिम क्षेत्रबाट बाहिरिएपछि तीन मिनेटमै उक्त निर्देशन फिर्ता लिइएको थियो । घटनाबाट टापुमा कुनै ठूलो अवरोध नभएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण कोरियाली सेनाका प्रवक्ता जाङ डो-युङले रूसी विमानले यस वर्ष पटक-पटक आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको बताए । पछिल्लो घटनाबारे रुससँग कूटनीतिक रूपमा विरोध जनाउने तयारी भइरहेको उनले जानकारी दिए । यद्यपि, यसपटक कति वटा रूसी विमान प्रवेश गरेका थिए भन्ने सेनाले खुलाएको छैन ।
हवाई रक्षा पहिचान क्षेत्र कुनै देशको वास्तविक क्षेत्रीय हवाई सीमाभन्दा बाहिरसम्म फैलिएको हुन्छ । यसले विदेशी विमानको पहिचान र निगरानी गरी सम्भावित सुरक्षा चुनौतीको प्रतिकार्यका लागि सेनालाई पर्याप्त समय उपलब्ध गराउँछ ।
यसअघि सन् २०१९ मा पनि रूसी ए-५० प्रारम्भिक चेतावनी विमानले दक्षिण कोरियाको क्षेत्रीय हवाई सीमा उल्लंघन गरेको आरोप लागेको थियो । त्यसबेला दक्षिण कोरियाली लडाकू विमानले डोक्डो टापुनजिक चेतावनीस्वरूप गोली चलाएका थिए । तर, मस्कोले उक्त आरोप अस्वीकार गरेको थियो ।
मंगलबारको घटना दक्षिण कोरियाले एक साताअघि पनि रूसी विमानलाई आफ्नो हवाई रक्षा पहिचान क्षेत्रबाट हटाउन लडाकू जेट परिचालन गरेको घटनापछि भएको हो । यसैबीच, जापानले पनि आफ्नो दक्षिणपश्चिमी तटनजिक दुई शङ्कास्पद रूसी विमान देखिएको भन्दै मस्कोसँग विरोध जनाएको थियो ।