• Menu

ठगी आरोपमा पूर्वश्रममन्त्रीहरु कुँवर र राय यादवसहित ६ पक्राउ

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार २२:१०

ठगी आरोपमा पूर्वश्रममन्त्रीहरु कुँवर र राय यादवसहित ६ पक्राउ

काठमाडौं । मलेसियन सरकारसँग भएको सम्झौताविपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्व श्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई बुधबार पक्राउ गरेको हो ।

सीआईबीले सोही मन्त्रालयका तत्कालीन सचिव विनोद के‍सी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरूङलाई पनि पक्राउ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरूविरूद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । सीआईबीले ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा उनीहरूमाथि म्याद थप भएर अनुसन्धान अघि बढाएको छ ।

एसएसपी जबराका अनुसार यो मामिलामा मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताको विपरीत हुने गरी गैरकानुनी रूपमा ठगी गरेको देखिएको छ । संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० ब्रिटिस पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६.७६ रूपैयाँ सम्झौताको दायरा नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गरेको आरोप छ ।

उनीहरूले देशको अर्थतन्त्र प्रतिकूल (मुद्रा सञ्चितीकरणमा नोक्सानी) हुने निर्णय गरी संगठित समूहको लाभ लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार