सुनसरी । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारीको करिब ११ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (शिव लामिछाने) पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले उनलाई कोशी प्रदेशबाटै पक्राउ गरिएको पुष्टि गरेका छन् । सहकारीको रकम अपचलनपछि उनी फरार रहँदै आएका थिए ।
प्रहरी अनुसन्धानअनुसार बराह सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरिएको थियो ।
सहकारीको अधिकांश रकम बराह ग्रुपअन्तर्गतका १४ कम्पनीमा लगानी गरिएको अनुसन्धानमा खुलेको छ । सहकारीको कुल दायित्व १० अर्ब ८९ करोड ९५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
धरान उपमहानगरपालिकाले २०८२ भदौ २२ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । बराह ग्रुपले धरानबाहेक काठमाडौं, चितवन र पोखरालगायत स्थानबाट समेत सर्वसाधारणको रकम संकलन गरेको थियो ।
२०५२ सालमा धरानमा स्थापना भएको बराह ज्वेलरीले आकर्षक ब्याजको प्रलोभन देखाउँदै बचत संकलन गर्दै आएको थियो । पछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी स्थापना गरिएको थियो ।
कोरोना महामारीपछि आर्थिक संकटमा परेको बराह ग्रुपको सहकारी प्रकरणमा अध्यक्षको पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ ।