काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले उक्त आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार गत भदौमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका खुलाउनु आवश्यक रहेको मन्त्री खनालले बताए ।
उनले तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको व्यापारिक नाका भएको उल्लेख गर्दै यसलाई नेपाल र चीनबीचको ऐतिहासिक मित्रताको प्रतीकका रूपमा व्याख्या गरे ।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ मन्त्री खनालले भने, ‘यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल विस्तारका लागि यो नाका तत्काल खुलाउन जरुरी छ ।’
मन्त्री खनालको आग्रहप्रति प्रतिक्रिया दिँदै अध्यक्ष याङ वानमिङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए ।
भेटवार्ताका क्रममा नेपाल र चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षा लगायतका विविध विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तातोपानी नाका सञ्चालनमा आएमा बाढीका कारण प्रभावित नेपाल-चीन व्यापार तथा आवागमनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस