• Menu

फोहोर बिक्रीबाट व्यास नगरपालिकालाई साढे ९ लाख आम्दानी

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १२:२१

फोहोर बिक्रीबाट व्यास नगरपालिकालाई साढे ९ लाख आम्दानी

तनहुँ । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहोर बिक्री गरेर ९लाख ४० हजार ४९४ आम्दानी गरेको छ ।

नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट २७ लाख आम्दानी गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहोर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास-१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताए । नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडीमा संकलन गर्दै आएको छ । बिक्रीयोग्य सामग्री बिक्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका-१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको भए पनि निर्णय हुन नसक्दा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा समस्या भइरहेको छ ।

नगरपालिकाले नगरका टोल, वडा र विद्यालयमा पुगेर फोहोर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालय परिसरमा संकलित नकुहिने फोहोरबाट कागज, सिसा र प्लास्टिकजन्य सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।

कुहिने फोहोर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग हुँदै आएको छ । नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक फोहोर संकलन गर्दै आएको छ । ती क्षेत्रबाट दैनिक करिब ११ टन फोहोर    संकलन हुने गरेको छ । रासस