एजेन्सी । अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेट निर्वाचनमा महत्त्वपूर्ण जित हासिल गरेकी छन् । उनको विजयसँगै सिनेटमा डेमोक्रेटिक पार्टीले ५६-४४ को बहुमत प्राप्त गरेको छ ।
दुई कार्यकालदेखि सिनेटर रहेका रिपब्लिकन नेता डान एस सुलिभानलाई पराजित गर्दै पेल्टोलाले जित हासिल गरेकी हुन् । परम्परागत रूपमा रिपब्लिकन पार्टीको प्रभाव रहेको अलास्कामा उनको विजयलाई डेमोक्रेटिक पार्टीको महत्त्वपूर्ण राजनीतिक सफलताका रूपमा हेरिएको छ ।
पूर्व राज्य विधायकसमेत रहेकी पेल्टोलाले सन् २०२२ मा अमेरिकी कङ्ग्रेसमा निर्वाचित हुने पहिलो अलास्का मूल निवासी बनेर इतिहास रचेकी थिइन् । तत्कालीन रिपब्लिकन सांसद डन यङको निधनपछि रिक्त भएको प्रतिनिधिसभा सदस्य पदका लागि भएको विशेष निर्वाचन जितेर उनी कङ्ग्रेस प्रवेश गरेकी थिइन् ।
विजयपछि भिडियो सन्देश जारी गर्दै पेल्टोलाले अलास्कावासीले परिवर्तनका पक्षमा मतदान गरेको बताइन् । उनले भ्रष्टाचार र कर्पोरेट स्वार्थविरुद्ध लड्ने, दैनिक उपभोग्य वस्तु तथा इन्धनको मूल्य घटाउने र नयाँ आवास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
आगामी ६ वर्ष अलास्काका सबै क्षेत्रका नागरिकसँग सहकार्य गर्दै राज्यको हितमा काम गर्ने उनको भनाइ थियो ।
यसैबीच, सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले पेल्टोलाको विजयलाई ऐतिहासिक उपलब्धिको संज्ञा दिएका छन् । उनले अलास्कावासीका प्रमुख सरोकारका विषय माछा, परिवार र स्वतन्त्रतालाई केन्द्रमा राखेर पेल्टोलाले प्रभावकारी चुनावी अभियान सञ्चालन गरेको उल्लेख गरे ।
शुमरले केही महिनाअघिसम्म डेमोक्रेटिक पार्टीले सिनेटमा ५६ सिट हासिल गर्ने सम्भावना नरहेको बताएका थिए । महँगी, भ्रष्टाचार र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको राजनीतिक अराजकतालाई चुनावी अभियानको मुख्य मुद्दा बनाउँदा पार्टीले सफलता प्राप्त गरेको उनको भनाइ थियो ।
उनले अब डेमोक्रेटिक पार्टीले महँगी नियन्त्रण गर्ने र अमेरिकी जनताको जीवनस्तर सुधार गर्ने विधेयक पारित गर्न प्राथमिकता दिने बताए । सिनेटमा ५६ सिटसहित बहुमत प्राप्त भएकाले पार्टीलाई आफ्ना नीतिगत कार्यक्रम अघि बढाउन अवसर मिलेको उनको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पले त्यस्ता विधेयकमा भिटो लगाए पनि डेमोक्रेटिक पार्टी आफ्नो चुनावी प्रतिबद्धताबाट पछि नहट्ने शुमरले बताए ।