काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले गिरीको प्रमाणपत्र तह तथा स्नातक तहको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
गिरीले २०७८ जेठ १ गतेदेखि फेटा गाउँपालिकामा नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए ।
आयोगका अनुसार नियुक्तिका क्रममा गिरीले पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र प्रमाणीकरणका लागि त्रिभुवन विश्वविद्यालय पठाइएको थियो। विश्वविद्यालयबाट प्राप्त प्रमाणीकरण विवरणमा उक्त लब्धाङ्कपत्र गिरीको नभई अन्य व्यक्तिको भएको खुलेको छ।
झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको देखिएकाले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ।
आयोगले उक्त कसुरमा कैद र जरिवाना हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।