काठमाडौं । भारतले नेपाललाई आगामी हिउँदयाममा ३५० मेगावाटसम्म विद्युत आयात गर्न र थप ५६ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएको छ। यससँगै नेपाल-भारतबीचको विद्युत व्यापार थप विस्तार हुने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको शिष्टाचार भेटवार्तापछि भारतले विद्युत आयात तथा निर्यातसम्बन्धी नयाँ अनुमति दिएको हो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न अनुमति दिएको छ। उक्त अनुमति आगामी साउन १५ गतेसम्म कायम रहनेछ।
अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा भारतबाट विद्युत आयात गर्न सकिनेछ।
विद्युत आयातका लागि कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत थप ५० मेगावाट विद्युत ल्याउन सकिने व्यवस्था गरिएको छ।
हिउँदयाममा नदीको जलप्रवाह घट्दा नेपालका जलविद्युत आयोजनाबाट हुने उत्पादन कम हुने र विद्युत माग उच्च रहने भएकाले भारतबाट आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ। नयाँ अनुमतिले आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, नेपालले थप ५६ मेगावाट विद्युत भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ। नेपाल विद्युत प्राधिकरणले तीनवटा जलविद्युत आयोजनाबाट उत्पादित उक्त विद्युत आगामी साउन १५ गतेसम्म भारतमा निर्यात गर्न सक्नेछ।
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भएको भेटवार्तामा दुई देशबीचको विद्युत व्यापार विस्तार, अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा ऊर्जा निर्यातमा आवश्यक सहजीकरणका विषयमा छलफल भएको थियो।
भारतबाट विद्युत आयातको सीमा विस्तार हुनु र थप विद्युत निर्यातको अनुमति प्राप्त हुनुले नेपालको ऊर्जा व्यापारमा नयाँ अवसर थपिएको छ। यसबाट हिउँदयामको आपूर्ति व्यवस्थापनसँगै नेपालको विद्युत निर्यात क्षमताको उपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।