काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ।
त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूमध्येबाट उक्त जिम्मेवारीमा नियुक्त गर्ने प्रक्रियाअन्तर्गत आशयपत्र आह्वान गरेको हो। सम्बन्धित प्राध्यापकलाई उपकुलपतिबाट नियुक्त गर्ने व्यवस्था रहेको विश्वविद्यालयले जनाएको छ।
‘कन्ट्री फोकल पर्सन’ नियुक्त हुने प्राध्यापकको मुख्य जिम्मेवारी सम्बन्धित देशका विश्वविद्यालयसँग यसअघि भएका सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी र प्राध्यापक आदानप्रदान कार्यक्रमलाई प्रवर्धन गर्ने रहेको छ।
त्यसैगरी अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने तथा विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा आकर्षित गर्न आवश्यक सहजीकरण गर्ने जिम्मेवारीसमेत तोकिएको छ।
त्रिविका अनुसार इच्छुक प्राध्यापकले आगामी मंसिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनसँगै आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण तथा आगामी दुई वर्षका लागि तयार पारिएको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ।
आवेदकहरूमध्येबाट अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशका विश्वविद्यालय तथा संस्थासँगको पूर्वसम्पर्क र शैक्षिक सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले स्पष्ट पारेको छ।
यस पहलमार्फत त्रिविले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सम्बन्धलाई थप सक्रिय बनाउँदै शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ।