• Menu

खरायोको खानाभित्र लुकाएर ल्याइएको ५.५ किलो हेरोइनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १३:०६

खरायोको खानाभित्र लुकाएर ल्याइएको ५.५ किलो हेरोइनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका एक भारतीय नागरिक ५.५ किलोग्राम सेतो हेरोइनसहित पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुहरूको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा भारतको महाराष्ट्र, पुणेका ३५ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार २०८३ कात्तिक २८ गते थाइल्यान्डबाट नेपाल आएका तिघारेमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा उनले साथमा ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखेको ५.५ किलोग्राम सेतो हेरोइन फेला परेको थियो।

प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलग्न गिरोहका मुख्य व्यक्तिमध्ये एक रहेको खुलेको छ। अनुसन्धानका क्रममा उनी यसअघि पनि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा हवाई मार्ग हुँदै नेपाल आएको पाइएको ब्युरोले जनाएको छ।

हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूले लागूऔषध ओसारपसार गर्न सक्ने भएकाले शंकास्पद यात्रुमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको ब्युरोले जनाएको छ।

पक्राउ परेका तिघारेमाथि लागूऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान अघि बढाएको छ।