• Menu

कलाकारमाथि गोली प्रहार र फिरौतीका धम्की बढेपछि बलिउडमा सुरक्षा व्यवस्था कडा, निजी अंगरक्षकको माग बढ्यो

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १६:३६

कलाकारमाथि गोली प्रहार र फिरौतीका धम्की बढेपछि बलिउडमा सुरक्षा व्यवस्था कडा, निजी अंगरक्षकको माग बढ्यो

एजेन्सी । कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्कीका घटना बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव रहेको समयको झल्को दिएको छ। कलाकार, उनीहरूका परिवार तथा बालबालिकाको सुरक्षाका लागि निजी अंगरक्षकको मागसमेत बढेको छ।

भारतीय प्रहरीले पछिल्ला घटनाको अनुसन्धान जेलमा रहेका भारतीय अपराधी लरेन्स बिश्नोईको गिरोहसँग जोडेर गरिरहेको छ। गत अक्टोबरमा अभिनेता टाइगर श्राफको गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो भने अभिनेता तुषार कपुरसँग छ लाख अमेरिकी डलर फिरौती मागिएको थियो। गोलीकाण्डमा संलग्न रहेको आरोपमा सङ्गठित अपराध नियन्त्रण कानुनअन्तर्गत १३ जना पक्राउ परेका छन्।

अभिनेता तथा सुरक्षा सेवा कम्पनीका सञ्चालक रोनित रोयका अनुसार कलाकार र उनीहरूका परिवारले सुरक्षाका लागि अंगरक्षक राख्ने क्रम बढाएका छन्। लेखक एस हुसेन जैदीले भने केही अवसरवादी अपराधीले चर्चित गिरोहको नाम प्रयोग गरेर त्रास फैलाइरहेको बताएका छन्।

यसैबीच, अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका छन् भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा व्यवस्था बढाइएको छ।

सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव व्यापक थियो। त्यसबेला गिरोहहरूले चलचित्र निर्माण, कलाकार छनोट र वितरणमा प्रभाव जमाउन फिरौती माग्ने तथा धम्की दिने गरेका थिए। दाउद इब्राहिम र छोटा राजन त्यस समयका चर्चित अपराधी थिए।

सन् १९९९ पछि सङ्गठित अपराध नियन्त्रणका लागि प्रहरी कारबाही तीव्र हुनुका साथै चलचित्र क्षेत्रमा व्यावसायिक लगानी बढेपछि आपराधिक गिरोहको प्रभाव घट्दै गएको थियो।

बिश्नोई गिरोहलाई अभिनेता सलमान खानविरुद्धका धम्कीका घटनासँग पनि जोडिएको छ। सन् १९९८ मा कालो हरिणको सिकार गरेको आरोपपछि खानलाई धम्की दिइएको थियो। भारतीय अधिकारीहरूले उक्त गिरोहका सदस्यले खानको निवासबाहिर गोली चलाएको र सन् २०२४ मा राजनीतिज्ञ बाबा सिद्दिकीको हत्यामा संलग्न रहेको आरोप लगाएका छन्।

अपराध पत्रकार अहमद अलीले पछिल्ला केही धम्की बिश्नोईको नामबाट फाइदा लिन खोज्ने व्यक्तिका प्राङ्क कलसमेत हुन सक्ने बताएका छन्। सन् १९९० को दशकमा फिरौती र धम्कीको सामना गरेका चलचित्र निर्देशक राजीव रायले भने अहिलेका घटनाको उद्देश्य विगतको भन्दा फरक देखिएको बताएका छन्।

निर्माता बोनी कपुरले पछिल्लो हिंसा लामो समयसम्म नटिक्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, उनले गोली प्रहारका घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्।