• Menu

देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना छ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ असार २९, शनिबार २१:४८

देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।

काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रममा शनिबार उनले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेस गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।

‘विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्षहरुमा सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्छ,’ उनले भने ।

युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवा सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँबराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसंग उल्लेख गर्दै उनले यसका लागि यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए ।

सूचना प्रविधि अहिलेको समाजको जीवन पद्दति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अंगीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको उनले बतए । अध्यक्ष ढकालले नेपालमा पनि मेडिकल, इन्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको बताए । ‘आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ,’ उनले भने ।

उनले नेपालमा रहेको यस क्षेत्रको सम्भावन अनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी नाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे ।

नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै उनले राज्यले उचित नीति अख्तियार गर्‍यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्‍यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनी केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताए ।