• Menu

पाकिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार ११:२६

पाकिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा ११ जनाको मृत्यु

एजेन्सी  । उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान सडकबाट नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।

उद्धार अधिकारी तथा प्रहरीका अनुसार बिहीबार राति गिलगिट-बाल्टिस्तान क्षेत्रमा चालकले गाडीमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलका अनुसार दुर्घटनापछि उद्धारकर्ताले खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए। शुक्रबारसम्म जारी उद्धार अभियानका क्रममा भ्यानमा सवार ११ जनाको शव फेला परेको र तीन घाइतेलाई उद्धार गरी नजिकैको अस्पताल पुर्‍याइएको थियो।

क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले घाइतेको आवश्यक उपचारको व्यवस्था मिलाउन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

पाकिस्तानमा सडकको खराब अवस्था, ट्राफिक नियमको कमजोर कार्यान्वयन तथा असुरक्षित चालक व्यवहारका कारण विशेषगरी पहाडी क्षेत्रमा सडक दुर्घटना बारम्बार हुने गरेका छन्।

गत साता पूर्वी पाकिस्तानमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको थियो भने अन्य ३३ जना घाइते भएका थिए। रासस