• Menu

असोज महिनामा काँकडभिट्टा हुँदै नेपाली चियाको निर्यात ९० प्रतिशतभन्दा बढीले बढ्यो

नेपाल प्रफिट

२०८३ कात्तिक २४, मंगलबार १३:३८

असोज महिनामा काँकडभिट्टा हुँदै नेपाली चियाको निर्यात ९० प्रतिशतभन्दा बढीले बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।

मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने २४ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ ।

काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।

पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्यतः भारतीय बजारमा निर्यात हुने गरेको छ । रासस