काठमाडौं । समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक रूपमा बचत रकम फिर्ता पाएका हुन् ।
समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताले आफ्नो बचतको पूर्ण रकम फिर्ता पाएका छन् ।
त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्ताले आंशिक रकम फिर्ता पाएका छन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार बचतकर्तालाई फिर्ता गरिएको रकम समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको हो ।
समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरेको जनाएको छ । आगामी दिनमा पनि बचत रकमको आकारका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने सचिवालयले जनाएको छ ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त हुने रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले स्पष्ट पारेको छ ।