• Menu

एनपीएलका हरेक चौका र छक्कामा रेड पान्डा संरक्षणका लागि इसेवाको आर्थिक सहयोग

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १७:०६

एनपीएलका हरेक चौका र छक्कामा रेड पान्डा संरक्षणका लागि इसेवाको आर्थिक सहयोग

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत संकटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा आर्थिक सहयोग गर्ने भएको छ।

‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ इसेवाले योगदान गर्नेछ। यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म सहयोग गर्ने लक्ष्य राखिएको छ।

एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवाले रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागेको हो। यसका लागि तीनै संस्थाबीच त्रिपक्षीय साझेदारी भएको छ।

अभियानबाट संकलित रकम रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा संकटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको संरक्षणका लागि प्राकृतिक बासस्थानको सुरक्षा र पुनर्स्थापना महत्त्वपूर्ण मानिन्छ।

यस अभियानअन्तर्गत सन् २०२७ को जुन-जुलाईमा इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा स्थानीय प्रजातिका बिरुवा रोप्ने, रोपिएका बिरुवाको संरक्षण तथा हेरचाह गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनर्स्थापना गर्ने कार्य समावेश हुनेछन्।

अभियानमार्फत करिब १० हेक्टर क्षतिग्रस्त वन क्षेत्र पुनर्स्थापना गर्ने, १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६०० श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइने बताइएको छ।

अभियानबारे जानकारी दिँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि ठूलो उत्सव भएको बताए । खेलको उत्साहलाई प्रकृति संरक्षणसँग जोड्ने उद्देश्यले अभियान अघि सारिएको उनको भनाइ छ।

‘नेपाल प्रिमियर लिग देशभरका क्रिकेटप्रेमीका लागि एउटा ठूलो उत्सव हो। एनपीएलमा प्रहार हुने हरेक चौका र छक्काबापत रेड पान्डाको बासस्थान संरक्षणमा सघाउँदै खेलको उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरेका छौँ,’ शाक्यले भने ।

उनले खेलकुदको सकारात्मक प्रभावमार्फत जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य रहेको पनि बताए ।

त्यस्तै, रेड पान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेड पान्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। यस सहकार्यले संरक्षण तथा समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ।

रेड पान्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पान्डाको भविष्यसँग जोडेकोमा इसेवाप्रति आभार व्यक्त गरे । उनले यस सहकार्यले रेड पान्डाको बासस्थान संरक्षण तथा हरित रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

इसेवाका अनुसार यस अभियानले खेलकुदमार्फत जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुका साथै स्थानीय समुदायको सहभागिता र जीविकोपार्जनका अवसर विस्तार गर्न सहयोग गर्नेछ।

एनपीएल अवधिभर प्रहार भएका चौका र छक्काका आधारमा जम्मा भएको सहयोग रकमको विवरण इसेवाको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। डिजिटल भुक्तानी सेवालाई वातावरण संरक्षण र सामुदायिक हितसँग जोड्दै जिम्मेवार व्यावसायिक अभ्यासलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।