• Menu

लुम्बिनी केबलकारमा २४ प्रतिशतले बढे भारतीय पर्यटक, टप स्टेसनमा बन्दैछ पाँचतारे होटल र क्यासिनो

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १६:२६

लुम्बिनी केबलकारमा २४ प्रतिशतले बढे भारतीय पर्यटक, टप स्टेसनमा बन्दैछ पाँचतारे होटल र क्यासिनो

रुपन्देही । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको संख्या बढेको हो।

कम्पनीको मंगलबार सम्पन्न २३औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको जानकारी दिए । उनका अनुसार केबलकार यात्रा गर्ने कुल पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ।

भारतको उत्तर प्रदेश, दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशलगायतका क्षेत्रबाट पर्यटकहरू पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमणका लागि आउने क्रम बढेको कम्पनीले जनाएको छ।

भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष सुविधा उपलब्ध गराउने तथा भारतीय भ्लगरमार्फत प्रचारप्रसार गर्ने कार्यलाई तीव्रता दिइएको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच, केबलकारको टप स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको क्यासिनोसहितको होटल निर्माण प्रक्रिया अगाडि बढाइएको छ। होटलको नक्सापास अन्तिम चरणमा पुगेको र खानेपानी आपूर्तिको व्यवस्थापनसमेत आंशिक रूपमा सम्पन्न भएको अध्यक्ष ढकालले जानकारी दिए ।

कम्पनीले आगामी आर्थिक वर्षमा पर्यटकका लागि थप मनोरञ्जनात्मक पूर्वाधार विकास गर्ने योजना बनाएको छ। योजनाअन्तर्गत रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडलगायतका आकर्षण थप गरिने जनाइएको छ।

बजार प्रवर्धनलाई प्रभावकारी बनाउन कम्पनीले बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था तथा ४५ भन्दा बढी शिक्षण संस्थासँग सहकार्य गरेको छ। त्यसैगरी, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष र शङ्करनगर वन विहारसँग पनि सहकार्य तथा टिकट छुटसम्बन्धी सम्झौता गरिएको कम्पनीले जनाएको छ।

विश्व भूराजनीतिक परिस्थितिमा आएको परिवर्तन र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण तथा मितव्ययिता कायम गर्दै कम्पनीले काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ । साथै, आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याइरहेको कम्पनीले जनाएको छ ।

भारतीय पर्यटकको बढ्दो आगमन, होटल तथा क्यासिनो निर्माण र थप मनोरञ्जनात्मक पूर्वाधार विस्तारको योजनाले लुम्बिनी केबलकारलाई क्षेत्रीय पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।