• Menu

जनशक्ति थपेर भूमिहीन र सुकुमवासीलाई छिट्टै लालपुर्जा वितरण गरिनेछ : प्रशासनमन्त्री रावल

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार १६:३७

जनशक्ति थपेर भूमिहीन र सुकुमवासीलाई छिट्टै लालपुर्जा वितरण गरिनेछ : प्रशासनमन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण गरिने बताएकी छन् ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीको छलफलपछि उनले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन आवश्यक जनशक्ति व्यवस्थापन गरिने स्पष्ट पारिन् ।

मन्त्री रावलले भनिन्, ‘प्राप्त सुझावका आधारमा काम कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छौँ । नियम र नीतिका कारण काम रोक्ने वा बाधा अड्काउ हुने अवस्था छैन । जिम्मेवारीमा रहनुभएका व्यक्तिले कति छिटो अगाडि बढाउनुहुन्छ भन्ने विषय नियतमा भर पर्छ ।’

मन्त्री रावलले लालपुर्जा वितरणको कामलाई तीव्रता दिन जिल्ला समितिलाई आवश्यक सुझाव दिन आग्रह गरिएको बताइन् । मन्त्री रावलले आफूले सहकारी पीडित तथा भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरी स्थानीयका समस्या र गुनासा सुनेको तथा सरकारले गरिरहेका कामबारे उनीहरुलाई जानकारी गराएको बताइन् । रासस