• Menu

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार १४:०७

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) द्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीको संयुक्त आयोजनामा हुने ‘सगरमाथादेखि सागरसम्म : एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाबाट सिकिएका पाठ’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने छन् ।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जिव महर्जनका अनुसार सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीहरूसँग साइडलाइन वार्ता गर्ने छन् । वार्ताका क्रममा विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिका विषय उठाइने महर्जनले जानकारी दिए ।

भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता र अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् ।

मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।