• Menu

कामिल मार्रा : ११७ वर्षको उमेरमा पनि जीवनप्रति उत्तिकै उत्साह

नेपाल प्रफिट

२०८३ कात्तिक ५, बिहीबार ०६:५७

कामिल मार्रा : ११७ वर्षको उमेरमा पनि जीवनप्रति उत्तिकै उत्साह
फूलबारीमा पानी हाल्दै मार्रा ।

एजेन्सी । अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध महिला हुन् । तर, उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ । उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहमभन्दा दुई दिन जेठी हुनेछिन् । क्याटरहमलाई गिनिज वर्ल्ड रेकर्ड्सले सबैभन्दा वृद्ध महिलाको मान्यता दिएको छ ।

दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी- सुनेकी छन् । राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन् ।

‘जीवन सुन्दर छ, माउन्ट टोमोरजस्तै फुलेको छ,’ मुस्कुराउँदै उनी भन्छिन्, भगवानले जति समय बाँच्न लेख्नुभएको छ, मानिस त्यतिन्जेल बाँच्छ ।’

उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन् । सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ । उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औँल्याएको थियो ।

मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए । त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो । यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ ।

८० वर्षीय छोरोसँग मार्रा ।

मार्रा अझै बिहान उठेर आँगन सफा गर्छिन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन् । छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन् । उनको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएकी छैनन् ।

श्रीमानको निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउँछिन् । परिवारले मिलाइदिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनी भन्छिन्, ‘नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थेँ र ?’

मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन् । आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा भने उनी भावुक हुन्छिन् । तर, परिवारका सदस्य घर आउँदा उनलाई खुसी मिल्छ ।

‘मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु,’ उनले भनिन् । युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ । उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो ।