• Menu

उत्तर-दक्षिण कोरियाबीच हाइपरसोनिक हतियार विकासको होडबाजी, दक्षिण कोरियाले दियो उत्तरलाई जवाफ

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार ११:१८

उत्तर-दक्षिण कोरियाबीच हाइपरसोनिक हतियार विकासको होडबाजी, दक्षिण कोरियाले दियो उत्तरलाई जवाफ

एजेन्सी । दक्षिण कोरियाको सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले उठाएको शङ्का खारेज गर्दै अत्यधिक तापक्रम सहन सक्ने प्रविधि प्रयोग गरिएको जनाएको छ । दुई कोरियाबीच उच्च प्रविधियुक्त हतियार विकासको प्रतिस्पर्धा तीव्र भइरहेका बेला सियोलको यो भनाइ सार्वजनिक भएको हो ।

हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा उड्न र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्छन् । यसले गर्दा यस्ता क्षेप्यास्त्रलाई पत्ता लगाउन र रोक्न कठिन हुन्छ ।

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरिएको मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको केही दिनपछि दक्षिण कोरियाले पनि यसै महिनाको सुरुमा आफ्नै क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

बिहीबार उत्तर कोरियाले दक्षिण कोरियाले सार्वजनिक गरेका तस्बिरले क्षेप्यास्त्र हाइपरसोनिक गतिमा उड्न असफल भएको संकेत गर्ने दाबी गरेको थियो । उत्तर कोरियाको क्षेप्यास्त्र प्रशासनका प्रमुख जाङ चाङ हाले क्षेप्यास्त्रको बाहिरी सतह सफा रहेको र अत्यधिक तापक्रमबाट उत्पन्न हुने कालो ध्वाँसो नदेखिएकाले त्यसको हाइपरसोनिक उडानमाथि विश्वास गर्न कठिन रहेको बताएका थिए ।

दक्षिण कोरियाली सेनाले भने क्षेप्यास्त्रमा तापबाट जोगाउने देशमै उत्पादित तापप्रतिरोधी सामग्री प्रयोग गरिएको र त्यसको बलियो बनावटले अत्यधिक तापक्रममा समेत बाहिरी सतहमा कालो ध्वाँसो लाग्न नदिने जनाएको छ । सियोलले राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको यस प्रविधिलाई थप विकसित गर्ने योजना पनि बनाएको छ ।

विश्लेषकहरूका अनुसार रुसको प्राविधिक सहयोगले उत्तर कोरियाको हाइपरसोनिक हतियार विकासमा सघाएको छ । युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाले सैनिक पठाएपछि यस्तो सहयोग बढेको उनीहरूको भनाइ छ ।

प्योङयाङले आफ्नो पछिल्लो एआई-सहयोगी क्षेप्यास्त्रले लहरजस्तो उडान मार्ग पछ्याएकाले दक्षिण कोरिया र जापानलाई त्यसको निगरानी गर्न कठिन हुने दाबी गरेको छ । तर, दक्षिण कोरिया र अमेरिकाले विद्यमान रक्षा प्रणालीबाट उत्तर कोरियाली क्षेप्यास्त्रलाई पत्ता लगाउन र रोक्न सकिने बताएका छन् ।

विश्लेषकहरूका अनुसार दुवै कोरियाको हाइपरसोनिक हतियार विकास प्रतिस्पर्धाले कोरियाली प्रायद्वीपमा हतियारको दौड चर्काउनुका साथै अमेरिका र जापानको रक्षा व्यवस्थामा समेत प्रभाव पार्न सक्छ । रासस